२६ चैत्र २०७७, बिहीबार

बुटवल । बुटवलमा जारी राष्ट्रिय जनमोर्चाको चौथो राष्ट्रिय सम्मेलनको तेस्रो दिनसम्म बन्दसत्र जारी छ ।

नयाँ नेतृत्व चयन गर्दै आज राष्ट्रिय जनमोर्चाको राष्ट्रिय सम्मेलन सम्पन्न हुने जनमोर्चाले जनाएको छ । हरेक ५ वर्षमा सम्मेलन गर्नुपर्ने व्यवस्था अनुसार पार्टीको संगठनात्मक संरचना बनाउन सम्मेलन गरिएको हो ।

सम्मेलनबाट राजनीतिक, सांगठनिक प्रतिवेदन समेत सर्वसम्मतले पास भएको छ भन्ने आर्थिक प्रतिवेदन पास हुन बाँकी रहेको राष्ट्रिय जनमोर्चाको सचिवालयले जनाएको छ ।

बैठकले सम्मेलनमा पारित हुने दस्तावेजहरूको मस्यौदा तयार गर्न अध्यक्ष चित्रबहादुर केसीको संयोजकत्वमा ५ सदस्यीय दस्तावेज मस्यौदा समिति गठन गरेको थियो ।

सदस्यहरूमा उपाध्यक्ष दुर्गा पौडेल, महासचिव जनकराज शर्मा, कोषाध्यक्ष हिमलाल पुरी र केन्द्रीय सदस्य मनोज भट्ट रहेका छन् । त्यस्तै, महासचिव जनकराज शर्माको संयोजकत्वमा १३ सदस्यीय सम्मेलन व्यवस्थापन समितिको गठन भएको हो ।

सदस्यहरूमा उपाध्यक्षद्वय बद्रे आलम र दुर्गा पौडेल, केन्द्रीय सदस्यहरू कृष्णबहादुर खड्का, नन्दराज भट्ट, झविलाल थापा, घनश्याम न्यौपाने, लालबहादुर थापा, सुधा शर्मा, सल्लाहकार अमर थापा र अमर नेपाली तथा हरिकिशोर महतो रहेका छन् ।

‘भ्रष्टाचार व्यापक रूपले मौलाएको छ। माफियाहरूको चलखेल बढेको छ । गरिबी, बेरोजगारी, हत्या हिंसा र बलात्कारका घटना बढेका छन् । राष्ट्रियता, सार्वभौमिकता, राष्ट्रिय अखण्डतामाथि वैदेशिक हस्तक्षेप बढ्दो छ,’ राष्ट्रिय जनमोर्चाले भनेको छ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV