२६ चैत्र २०७७, बिहीबार

काठमाडौँ । प्रतिनिधि सभाको बैठक आज (बिहीबार) बस्दै छ । दिउँसो १ बजे बस्ने बैठकमा विगतदेखि विवादित बन्दै आएको सूचना प्रविधिसम्बन्धी विधेयकसम्बन्धी प्रतिवेदन पेश गर्ने कार्यसूची रहेको छ ।

विकास तथा प्रविधि समितिका सभापति कल्याणीकुमारी खड्काले सूचना प्रविधिसम्बन्धी विधेयककाे प्रतिवेदन पेस गर्ने कार्यसूचि रहेको बताइए पनि संघीय संसद सचिवालयको दैनिक कार्यसूचीमा भने सो कुरा उल्लेख छैन ।

संसदको विकास तथा प्रविधि समितिले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसबाहेकका सांसदहरुको बहुमतबाट उक्त विधेयक यसअघि नै पारित गरिसकेको छ । २०७६ पुस १३ गते विकास तथा प्रविधि समितिबाट पारित भएको उक्त विधेयकमा कांग्रेसले फरक मत राखेको थियो ।

file photo

अभिव्यक्ति स्वतन्त्रता कुण्ठित पार्ने प्रावधान विधेयकमा रहेको भन्दै विगतमा चर्को आलोचना र संसदमा अवरोध भएपछि अघि बढ्न सकेको थिएन । मौलिक हकअन्तर्गत रहेको अभिव्यक्ति स्वतन्त्रतालाई अंकुश लगाउने र सामाजिक सञ्जालमा लेखेकै भरमा या समाचार लेखेकै भरमा समेत जेल जान सक्ने प्रावधानहरु रहेको भन्दै विपक्षी पार्टी लगायत नागरिकस्तरबाट विधेयकको चर्को आलोचना र विरोध भएको थियो ।

यसैगरी, आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले मधेसी आयोग र थारु आयोगका वार्षिक प्रतिवेदन समेत प्रस्तुत गर्ने कार्यसूचि रहेको संसद् सचिवालयले जनाएको छ ।

यसैगरी आजको प्रतिनिधिसभा बैठकमा राष्ट्रिय सभाका पूर्वसांसद तथा पूर्ववाणिज्य एवं आपूर्ति राज्यमन्त्री ऐश्वर्यलाल प्रधानांगप्रति शोक प्रस्ताव पारित गर्ने कार्यसूची छ । प्रधानाङ्गको ९६ वर्षको उमेरमा यही चैत २० गते शुक्रबार निधन भएको हो ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV