२५ चैत्र २०७७, बुधबार

सिद्धार्थनगर । लीलाराम कुन्तीदेवी न्यौपाने प्रतिष्ठानद्वारा सिद्धार्थनगरस्थित भीम अस्पताल परिसरमा निर्मित लीलाराम न्यौपाने आकस्मिक कक्षको लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेलले उद्घाटन गर्नुभएको छ ।

समाजसेवी लीलाराम न्यौपानेको ९२औँ जन्मजयन्तीका अवसरमा आयोजित कार्यक्रममा मुख्यमन्त्री पोखरेलले भवनभित्र स्थापित लीलाराम न्यौपानेको सालिक अनावरण गर्नुभएको छ ।

कार्यक्रममा पोखरेलले समाजसेवी लीलाराम न्यौपाने र उहाँका छोराहरुले गरेका कार्यले समाज लाभान्वित हुने जनाउँदै धन हुनेहरूले न्यौपाने परिवारबाट प्रेरणा लिनुपर्ने बताउनुभयो । प्रतिष्ठानद्वारा तीन करोड पच्चीस लाख रुपैयाँको लागतमा निर्माण गरिएको उक्त भवनमा सम्पूर्ण उपकरण जडानसहितको पच्चीस शैय्या रहेको छ ।

प्रतिष्ठानका अध्यक्ष शोभाकर (हरि) न्यौपानेको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा प्रतिनिधि सभाका सदस्य एवं पूर्व मन्त्री बालकृष्ण खाँण, पूर्व मन्त्री दीपक बोहोरा, लुम्बिनी प्रदेश सभाका सदस्यद्वय डा. कृष्ण न्यौपाने र सन्तोष पाण्डे, रूपन्देही जिल्ला समन्वय समितिका प्रमुख तथा भीम अस्पताल विकास समितिका अध्यक्ष एकराज वि.क., सिद्धार्थनगर नगरपालिकाका प्रमुख हरिप्रसाद अधिकारी, भीम अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. शकुन्तला गुप्ता र यादव भट्टराईलगायतको उपस्थिति रहेको थियो ।

प्रतिष्ठानका महासचिव विष्णु न्यौपानेले समाजसेवी पिताले देखाउनुभएको बाटोमा हिँड्ने प्रयत्न गरेको बताउनुभयो । कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष शोभाकर (हरि) न्यौपानेले भीम अस्पताल विकास समितिका अध्यक्ष एकराज विकलाई नवनिर्मित आकस्मिक कक्ष (भवन)को साँचो हस्तान्तरण गर्नुभयो ।

सोही अवसरमा सिद्धार्थनगर नगरपालिकाका तर्फबाट प्रमुख हरिप्रसाद अधिकारीले समाजसेवी लीलाराम न्यौपानेकी धर्मपत्नी कुन्तीदेवी न्यौपानेलगायत छोराहरु शोभाकर (हरि), दूर्गा, विष्णु र शशी न्यौपानेलाई सम्मान गरेका थिए ।

प्रतिष्ठानले समाजसेवा, शिक्षा, साहित्य, संस्कृति, धर्म, खेलकुदलगायतका क्षेत्रमा उल्लेखनीय योगदान गर्ने संस्था र प्रतिभालाई सम्मान, पुरस्कार र सहयोग प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV