२५ चैत्र २०७७, बुधबार

काठमाडौँ । उपप्रधानमन्त्री ईश्वर पोखरेलले निजामती प्रशासनको प्रमुख समस्या ‘झिंगे टसाइ’ भएको बताउनुभएको छ । बुधबार सिंहदरबारमा आयोजित सरकारका सचिवहरूसँग निजामती सेवाका विविध पक्षसम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै पोखरेलले निजामती प्रशासनमा ‘झिंगे टसाइ’ समस्या रहेको उक्त सोच हट्न जरुरी रहेको उहाँले बताउनुभयो ।

‘अहिले निजामती प्रशासनभित्र रहेको प्रमुख समस्या हो सोचमा सकारात्मक परिवर्तनको अभाव, निजामती प्रशासन अझैसम्म (माफ गर्नुहोला एउटा शब्द प्रयोग गर्न चाहन्छु) झिंगे टसाइ सोचबाट मुक्त हुन सकेको छैन । यसलाई विरासतमा पाएको भन्ने गरिएतापनि समयको गतिसँग प्रशासन परिवर्तन हुन नसकेको रूपमा यसलाई बुझ्नु पर्दछ ।’

समयको गतिसँगै निजामती प्रशासन परिवर्तन हुन नसकेको भन्दै निजामती प्रशासनले परिणामलाई भन्दा पनि प्रक्रियालाई जोड दिने गरेको पनि उहाँले बताउनुभएको छ । यसकारण कर्मचारीतन्त्र आफैमा सक्षम हुँदाहुँदै पनि जनताको विश्वास जित्न नसकेको उहाँको भनाइ थियो ।

ढिलासुस्ती, भ्रष्टाचार, जिम्मेवारी पन्छाउने, निर्णय गर्न हिचकिचाउने, समस्यासँग तर्सने लगायतका प्रवृत्तिका कारण पनि कर्मचारीतन्त्रमाथि प्रश्न उठ्ने गरेको उहाँले बताउनुभएको छ । यस्तै, कर्मचारीतन्त्रले आफूलाई संवेदनशील, गतिशील मानवहरूको विवेकशील समूहको रूपमा स्थापित गर्न सक्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

कार्यक्रममा मुख्यसचिव शंकरदास वैरागीले कर्मचारीको व्यवहार, कार्यशैली, आचरण र जीवनशैलीद्वारा निजामती सेवाप्रतिको धारणा सकारात्मक बनाउन सकिने बताउनुभएको छ । साथै, कर्मचारीप्रतिको नकारात्मक दृष्टिकोण बदल्नु निजामती प्रशासनको मुख्य चुनौती भएको उहाँले बताउनुभयो ।

 

प्रतिक्रिया दिनुहोस्
LIVE TV