२५ चैत्र २०७७, बुधबार

पोखरा । गण्डकी प्रदेश सरकारमा रहेका नेकपा माओवादी केन्द्रका दुई मन्त्रीले राजीनामा दिएका छन् । बुधबार मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय पुगेर मन्त्रीद्धय हरिबहादुर चुमान र लेखबहादुर थापाले मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङलाई राजीनामा पत्र बुझाएका हुन्।

माओवादी केन्द्रका पार्टीको निर्देशनबमोजिम दुवैले राजीनामा बुझाएका छन्। चुमानले आन्तरिक मामिला तथा कानुन मन्त्रालय र थापाले कृषि मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए ।

मन्त्रीद्धय हरिबहादुर चुमान र लेखबहादुर थापा

राजीनामा पत्र बुझाउँदै माओवादी केन्द्रका दुवै मन्त्रीले फेरि सहकार्यको बाटो खुलोस् भन्दै मुख्यमन्त्री गुरुङसमक्ष राजीनामा बुझाएका छन् ।

दुवैले बुझाएको राजीनामा पत्र लिएपछि मुख्यमन्त्री गुरूङले प्रदेश सरकारमा रहँदा दुवैले राम्रो काम गरेको प्रशंसा गरे । एमालेकै मन्त्रीसँग बेलाबखत रिसाउनुपरेको तर, चुमान र थापासँग कहिल्यै नरिसाएको भन्दै दुवैले कार्यकालमा राम्रो काम गरेको बताए ।

६० सदस्यी रहेको गण्डकी प्रदेश सरकारमा हाल एमाले एक्लैको २७ सांसद रहेका छन् । संसदमा बहुमतका लागि ३० मतको खाँचा पर्दछ । माओवादीका १२ जनासहित एक सभामुख, नेपाली कांग्रेसका १५, राष्ट्रिय जनमोर्चाका ३ र जनता समाजवादीका २ सांसद छन् । मनाङबाट स्वतन्त्र चुनाव जितेका सांसद राजीव गुरुङ (दीपक मनाङे) को समर्थन पनि एमालेलाई नै छ । उनी मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङनिकट मानिन्छन् ।

यसरी सरकारबाट माओवादी बाहिरिए पनि संसदको अंकगणितमा मुख्यमन्त्री गुरुङ बहुमतमै देखिएका छन्। मुख्यमन्त्री गुरुङलाई जनमोचाले मात्र साथ दिए पनि सहजै सरकार अघि बढ्ने देखिन्छ ।

तर, एमालेका वरिष्ठ नेता माधवकुमार नेपालनिकटबाट सांसद भएका इन्द्रलाल सापकोटाले कता समर्थन गर्छन् भन्नेमा मुख्यमन्त्री गुरुङको सरकार अल्पमतमा वा बहुमतमा पर्छ भन्ने निर्धारण गर्छ। सांसद सापकोटाले भने यस विषयमा अहिलेसम्म केही धारणा सार्वजनिक गरेकी छैनन्

तर, मुख्यमन्त्री गुरुङले भने आइपर्ने जस्तोसुकै परिस्थितिको सामना गर्न आफु तयार रहेको बताएका छन्। आफूविरुद्ध अविश्वासको प्रस्ताव जुनसुकै बेला आउन सक्ने भए पनि त्यसको सामना गर्न आफू तयार रहेको उनले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV