२५ चैत्र २०७७, बुधबार

पोखरा । गण्डकी प्रदेश सरकारमा रहेका नेकपा माओवादी केन्द्रका दुई मन्त्रीलाई पदबाट फिर्ता बोलाइएको छ ।

बुधबार बसेको माओवादी संसदीय दलको आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमान र भूमिव्यवस्था, कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापालाई राजीनामा दिएर पदबाट फिर्ता बोलाएको हो । उनीहरु दुवै माओवादी केन्द्रबाट मन्त्री बनेका हुन् ।

दुवै मन्त्रीलाई माओवादी केन्द्रले मन्त्रीबाट फिर्ता बोलाए पनि समर्थन भने तत्काल फिर्ता नलिने भनिएको छ । नयाँ सत्ता समीकरणको टुंगो लागेपछि मात्र समर्थन फिर्ता लिने बताइएको छ ।

२७ सांसद रहेको गण्डकी प्रदेशमा नयाँ सरकार बनाउन एमालेबाहेक सबै दल एक ठाउँमा उभिनुपर्छ । ६० सदस्यीय गण्डकी प्रदेश सभामा माओवादीका १२ जनासहित एक सभामुख, नेपाली कांग्रेसका १५, जनमोर्चाका ३ र जनता समाजवादीका २ सांसद छन् ।

मनाङबाट स्वतन्त्र चुनाव जितेका सांसद राजीव गुरुङ (दीपक मनाङे) को समर्थन पनि एमालेलाई नै छ । उनी मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङनिकट मानिन्छन् ।

 

प्रतिक्रिया दिनुहोस्
LIVE TV