२४ चैत्र २०७७, मंगलवार

काठमाडौं । उदयपुरको त्रियुगा नगरपालिकास्थित गाईघाटमा रहेको बालमन्दिर माध्यमिक विद्यालयको नयाँ भवन निर्माणका लागि भारतले सहयोग गरेको छ ।

नेपाल–भारत मैत्री विकास साझेदारी कार्यक्रम अन्तर्गत अनुमानित ४ करोड २९ लाखको लागतमा सो परियोजनालाई उच्च प्रभाव सामुदायिक परियोजनाको रुपमा अघि बढाइने नेपालस्थित भारतीय दूतावासले जनाएको छ ।

जसका लागि भारतीय दूतावास, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र त्रियुगा नगरपालिकाबीच साेमबार सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।  सम्झौतापत्रमा त्रियुगा नगरपालिकाका मेयर र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उपसचिवले हस्ताक्षर गरेका छन् ।

भारत सरकारले सन् २००३ यता साविकको ‘साना विकास परियोजना’ र हालको ‘उच्च प्रभाव सामुदायिक परियोजना’ अन्तर्गत ५२० भन्दा धेरै परियोजना अघि बढाएकोमा नेपालका सातै वटा प्रदेशमा स्वास्थ्य, शिक्षा, खानेपानी, कनेक्टिभिटि, सरसफाई, तथा अन्य सार्वजनिक सुविधाका क्षेत्रमा हालसम्म ४४८ वटा परियोजना सम्पन्न भइसकेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV