२७ फाल्गुन २०७७, बिहीबार

नवीन कुलुङ/महेश्वर के.सी.

काठमाडौं, २७ फागुन । हिन्दु धर्मालम्बिहरुको चाडपर्वमध्ये महाशिवरात्रि पर्व एकमहान पर्व हो । हिन्दू पञ्चाङअनुसार हरेक वर्ष फागुन कृष्णपक्ष चतुर्थीका दिन महाशिवरात्रि मनाइन्छ । उक्त असवरमा शिवभक्तहरू शिवको पूजा, आराधना र उपाशनाका लागि शिवालय जाने गर्छन् । शिवालयमा शिवलिङ्गमा जल, दूध र वेलपत्र चढाएर शिवको पूजा गर्ने गरिन्छ ।

महाशिवरात्री पर्व विशेषगरि भारत र नेपालमा मनाइन्छ । शिवरात्रिको दिन काठमाडौंको पशुपतिनाथमा आज बिहानैदेखि लाखौँ भक्तजनको भीड लागेको छ । महाशिवरात्रिका लागि पशुपतिनाथ मूल मन्दिरका चारै ढोका बिहान ४ बजेदेखि नै खुला गरिएको छ ।

विगतका वर्षहरूमा महाशिवरात्रिको दिन पशुपतिनाथ मन्दिर पारीको राममन्दिर परिसरमा नागा बाबाले भरिन्थ्यो, यो वर्ष भने कोरोना महामारीको कारण केही कम बाबाहरू मात्रै देखिएका छन् । तर गाँजाको व्यापार भने बिहानैदेखि चलिरहेको छ । बाबाहरुलाई मात्र प्रयोग गर्न अनुमति भएको गाजा अरुले पनि प्रयोग गरिरहेका थिए ।

पशुपति विकास कोषले पशुपत क्षेत्रमा गाँजा बिक्रीवितरण र सेवनमा समेत रोक लगाएको छ  । तर राममन्दिर परिसरमा गाँजा खानको लागि बिहीबार भीड नै लागेको छ । बिहीबार बिहानै त्यहाँ भएका धेरैजसो गाजाको नशामा मस्त थिए ।

राममन्दिर परिसरमा प्रहरीको उपस्थिति रहेतापनि गाँजा खाना र बेच्न छाडेका छैनन् । प्रहरीले बाबाहरुबाट गाजा बरामद र किन्न आएकालाई लखेका पनि छैनन् । जोगीको भेषमा शिवरात्रिको माहोलमाझ गाँजाको खुलेआम व्यापार गरिरहेका छन् ।

शिवबुटीका नाममा गाँजा खाने, भाङको लड्डु खाने, धतुरो मिसाएर हलुवा बनाउने जस्ता प्रचलन छन् । तर, यसले स्वास्थ्यमा गम्भीर असर पार्ने जनरल फिजिसियन डा भरतकुमार यादव बताउँछन् । उनका अनुसार खालीपेटमा गाँजा सेवन गर्दा वान्ता हुने, रिङ्गटा लाग्ने, बेहोस हुनेलगायत समस्या देखिन्छ, भोको पेटमा गाँजा सेवन गर्दा बेहोस भएर सासै रोकिन पनि सक्छ ।’

 

प्रतिक्रिया दिनुहोस्
LIVE TV