२४ फाल्गुन २०७७, सोमबार

चिया पसलमा चियागफ चलिरहँदा अचानक एक साथीले आत्तिँदै भनी, “हेर, साँझ परिसक्यो । अब त घर जानुपर्छ । नत्र घरमा गाली र खप्की खानुपर्छ ।”

मैले प्रश्न गरेँ, “किन गाली र खप्की खाने नि ?”

प्रतिउत्तर आयो, “केटीमान्छे कहाँ ढिलो घर पुग्न हुन्छ त ? मार्दैनन् त अनि, कस्तो नबुझेको ?”

मैले स्पस्टसँग बुझ्न सक्थेँ उनको भनाइको आशय । उनमा एउटा भ्रम थियो कि केटीमान्छे सधैं अरुको सुरक्षामा बाँच्नुपर्छ । समयमै घर पुग्नुपर्छ । समाजले ताेकिदिएका मर्यादाका रेखा नाघ्नुहुँदैन ।

धेरै ठाउँ घुम्दा-डुल्दा, किताब पढ्दा, साथीभाइसँगको वार्तालाप, आदि धेरै कुराहरुले के बुझायो भने महिलाहरु सधैं कुनै न कुनै हिसाबले डरमा बाँचिरहेका हुन्छन् । जतिसुकै आधुनिकता तथा खुला सोचको कुरा गरे तापनि, कहीँ-कतैको महिलाको स्थिति राम्रो भए तापनि समग्रमा नेपाली समाजमा महिलाको जीवन डर, भय र असुरक्षाले भरिएको छ।

घरपरिवारको डर, समाजको डर, एक्लै बस्दा-घुम्दा तथा रमाउँदाको डर, जागीरको डर, ढिलो विवाह गर्दा तथा विवाह नहुँदा अरुले कुरा काट्छन् भन्ने डर, राम्रो जीवनसाथी भेटदिनँ कि भन्ने डर आदि । आखिर महिलाले स्वतन्त्रतापुर्वक आफूले चाहेजसरी जीवन बिताउन किन नपाउने ? हाँसीखुसी आफूले चाहेअनुसार जिउन किन पाउदैनन् त ? के महिलाले मात्र डरैडरमा जीवन जिउनुपर्ने ?

जतासुकै जाँदा पनि पटक-पटक मैले सुनेकी छ,”केटीमान्छेले समयमा बिहे गर्नुपर्छ, नत्र केटाले हेर्दैनन् । पछि केटा पाउन गाह्रो हुन्छ ।”  कतिपय पुरुषहरु तथा धेरैजसो महिलाले भन्ने गरेका वाक्यहरु हुन् यी। तर मैले कुनै पनि ठाउँमा कुनै केटामान्छेलाई छिटो बिहे गर्नुपर्छ, पछि केटी पाउन गाह्रो हुन्छ, कुनै केटीले हेर्दैनन् भनेको सुनेकी छैन। के पुरुषहरुले चाहिँ जन्मजात जे गर्दा पनि हुन्छ भनेर भनिएको छ त ? कति भ्रामक र गलत चिन्तनले भरिएको छ समाज, संस्कार अनि मानिसहरूको सोच ?

केही समयअगाडि म  काठमाडौंमा बस्ने एक साथीको घरमा गएकी थिएँ । उनी अध्ययनको साथै कुनै अफिसमा काम गर्छिन, आफ्नो जीवन राम्रोसँग जिरहेकै छिन्। हाम्रो वार्तालापको क्रममा उनले आफ्नो समस्या सुनाइन्, “हेर, यो समाजमा केटी मान्छेलाई धेरै गाह्रो छ । केटीमान्छे एक्लै बस्न नहुने रहेछ । सबले नराम्रो नजरले हेर्ने । आफ्नो घर-परिवारले त विश्वास गर्दैन, अरुको त कुरै छोड न । मैले अफिसमा त परिवारसँग बस्छु भनेकी छु, नत्र त मलाई हेपिहाल्छन नि ।”

उनको यो कुरा सुनेर म नाजवाफ भएँ। मलाई लाग्यो- यो समस्या कुनै एक व्यक्तिको मात्र नभएर धेरैजसो नेपाली महिलाको साझा समस्या हो। केटीमान्छे एक्लै बस्ने भनेपछि नचाहिने शंकाको दृष्टिले हेर्ने र मानसिक रुपमा कमजोर बनाएर विचलित बनाइदिने समाज छ । तर त्यही ठाउँमा पुरुष एक्लै बस्छ भने बिचरा कसरी बस्छ, के पकाएर खान्छ, गाह्रो भयो जस्ता माया तथा भावनाकाे लेपन लगाएर हेरेको देखिन्छ। होला कहीँकतै यस्तो सोच नहोला, महिला र पुरुषलाई समान दृष्टिले हेरिएला तर अधिकांश ठाउँमा असमान दृष्टिकै हेराइ व्याप्त छ ।

कतै एक पत्रिकामा पढेकी थिएँ-  लिभिङ टुगेदरले महिलालाई समाज बाँच्न कठिन बनाइरहेछ । सुरुमा केटा र केटीको सहमतिमा बस्छन् । बिस्तारै कुरा मिल्दैन अनि छुट्छन् । अनि केटीको बिचल्ली पर्छ । यी वाक्यहरु पढ्दा म झसंग भएँ। केटा र केटी दुबैजना सँगै बस्ने, कुरा नमिलेपछि छुट्ने अनि केटी मात्र किन खराब हुने ? केटीको जीवन बर्बाद कसरी हुन्छ ? केटाकाे किन हुँदैन ? के सँगै बसेको केटालाई चाहिँ केही फरक पर्दैन ? यो कतिसम्मको विभेदकारी अनि गलत सोच ? साेचेर दिमाग मात्र दुख्न थाल्छ ।

प्रेम अनि बिछाेडका कुरामा पनि प्रायः यस्तै हुन्छ । केटा र केटी मन मिलेपछि प्रेममा चुर्लुम्मै डुब्छन् । एक-अर्कालाई यति धेरै विश्वाश गर्छन् कि सबैकुरा नै सुम्पिदिन्छन् । जब प्रेम टुट्छ तब केटाहरुको धम्की, घुर्की, अहंकारकाे टकराव सुरू हुन्छ । अब पहिलाको सबकुरा बाहिर ल्याइदिन्छु, बेइज्जत नै गर्दिन्छु, सबको नजरमा गिराइदिन्छु आदि नानाप्रकारका हैरानीले सताइन्छ केटीलाइ । याे पनि पूरै पुरूषवादी सामाजिक साेचकाे परिणाम हाे । प्रेममा केटा र केटी दुवै पर्ने, विश्वाश दुवैले एक-अर्कालाई गर्ने अनि अन्त्यमा केटीले मात्र अनेक किसिमका डरैडरमा बाँच्नुपर्ने ! समाजले के भन्ला, अरुले के भन्लान्, कसरी बाँकी बाँच्नु… इत्यादि ।

कतिपय केटीहरुलाई भन्ने गरेको सुनिन्छ- त्यो त बिग्रेको केटी, सडेको केटी, खत्तम केटी । किन भन्दा त केटासँग हिडछे अरे, लसपस गर्छ अरे। अनि त्यही लसपसे केटीसँग हिँड्ने उसलाई भरपुर प्रयोग गर्ने त्याे स्वार्थी केटा चाहिँ सज्जन रे ? कति गलत सोचले भरिएको छ नेपाली समाजको मानसिकता ? अनि कसरी हुन्छ त समानता ?

धेरैजसो घरमा केटीमान्छेलाइ उपदेश दिने गरेकाे सुनिन्छ- छोरी मान्छे भनेको त भलादमी हुनुपर्छ, सुशील हुनुपर्छ । धेरै हास्नु हुँदैन, अरूसँग धेरै बाल्नुहुँदैन । घरको  सबै काम जान्नैपर्छ । छोटो लुगा लगाउनु हुँदैन, चरित्रहीन भइन्छ । स्वमत नभको भन्छ समाजले। मर्यादामा बस्नुपर्छ इत्यादि । तर केटामान्छेलाइ यी केही पनि भनिँदैन । पुरुषलाई भने कुनै सिमानै छैन, समाजमा जे गर्न नि छुट !

यसरी पुरातन पितृसत्तात्मक सामाजिक साेचमा कहीँकतै परिवर्तन आए तापनि अधिकांश क्षेत्रमा उस्तै छ । चेतनासँगै बिस्तारै कहिँकतै महिलाले स्वतन्त्रतापुर्बक जीवन जिउन पाए तापनि अधिकांश नेपाली महिलाहरु अझ पनि डरै-डरमा दबिएर बाँचिरहेका छन्। प्रत्येक पाइलामा डर भएपछि कसरी महिलाहरु सुरक्षित हुन्छन् त ? कसरी हुन्छ उनीहरूकाे प्रगति ? अनी जतिसुकै समानताका कुरा गरे तापनी, जतिसुकै नारा लगाए तापनि कसरी हुन्छ समाजमा समानता ? जबसम्म महिलाहरु भयरहित र स्वतन्त्र जीवन जिउन पाउँदैनन्, तबसम्म महिलाको स्थिति जहीँको त्यहीँ हुन्छ।

तसर्थ समाजमा चेतनाकाे विकास गराउँदै नारी-पुरूष समानताका लागि सबै क्षेत्रबाट काम हुनुपर्छ । महिलामाथि हुने विभेदविरूद्धका नीति-नियमहरूकाे कार्यान्वयन गराउँदै राज्य संयन्त्रले समेत प्रभावकारी काम गराउनुपर्छ । महिलाहरूकाे स्थिति यी यावत डरैडरकाे अँध्याराे सुरूङबाट  उकास्नका लागि समाजका सचेत पुरूष वर्ग र महिला सबैले सहयाेग गर्नुपर्छ । महिला-पुरूषलाइ समान दृष्टिले हेर्न सुरू गराैँ, आफूभित्र रहेको बाक्लो कालो विभेदकारी साेचकाे कुहिरोलाई उखेलेर फालाैँ !

प्रतिक्रिया दिनुहोस्
LIVE TV