२२ फाल्गुन २०७७, शनिबार

हिंसात्मक गतिविधि छोडेर भर्खरै शान्तिपूर्ण राजनीतिमा आएको नेत्रविक्रम चन्द  ‘विप्लव’ नेतृत्व नेपाल कम्युनिष्ट पार्टी, नेकपाप्रति यतिखेर देशभित्र मात्र हैन, बाहिरबाट समेत धेरैको ध्यान मोडिएको छ । शुक्रबार सरकारसँग तीनबुँदे सहमतिमा हस्ताक्षर गरेर पार्टी महासचिव विप्लव खुल्ला राजनीतिमा आएका छन् भने कारागारमा रहेका उनका नेता–कार्यकर्ता पनि सरकारले रिहा गरिरहेको छ ।

वैज्ञान्कि समाजवादका लागि एकीकृत जनक्रान्ति गर्ने उद्घोषका साथ सशस्त्र गतिविधि थालेपछि यस समूहलाई सरकारले नै प्रतिबन्ध लगाएको थियो । तर सहमतिसँगै प्रतिबन्ध फुकुवा भइसकेको छ । धेरैले यस सहमतिलाई पनि सत्तास्वार्थसँग जोडेर हेरिरहेको परिप्रेक्ष्यमा नेकपा प्रवक्ता खड्गबहादुर विश्वकर्मा  ‘प्रकाण्ड’सँग न्यूज २४ नेपालका लागि कृष्ण कुमारी चौलागाईंले गरेको कुराकानी-

एकाएक वार्तामा आउनुभयो र सरकारसँग सहमति पनि भयो, यसले गर्दा परिवर्तनका आकांक्षी जनता र सहिदका परिवारमा आशंका फैलिएको छ नि ?

यो प्रश्न बाहिर मासमा रहेको प्रश्न हो । तर यो वार्ता एक्कासि भएको भन्ने छैन, प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा विगत दुई वर्षदेखि हामी वार्तामै थियौँ । यद्यपि हाम्रो र सरकारको बीचमा संघर्ष चलिरहेको थियो तर पनि त्यसबीचमा पनि हाम्रो वार्ता चलिरहेको नै थियो । त्यस समयमा मुख्य स्वरुप संघर्ष रहेको थियो भने वार्ता सहायक रहेको थियो ।

अहिले वार्ता मुख्य बन्न पुग्यो भने संघर्ष सहायक बन्न पुगेको छ । यसैकारण चाहिँ जनमानसमा सरप्राइज हो कि भन्ने बन्न पुगेको हो । तर यो सरप्राइज होइन, लामो समयदेखिको एक्सरसाइज हो ।

आन्दोलन भनेको सहिदको विचार, आस्था र सहिदको उद्देश्यको प्रतिनिधित्व हो । नेपालको परिप्रेक्षमा के भयो जनताले बलिदान गरे, नेता कार्यकर्ताले बलिदानी गरे, जो इमान्दार छ । तर आन्दोलनचाहिँ नेताहरूको आफ्नो व्यक्तिगत स्वार्थ पूर्ति गर्ने र सत्तामा जाने साधन बनाइयो ।

सहिदको सपनालाई बेवारिसे बनाइयो, घाइते अपाङ्गको बलिदानीलाई सडकमा नै बेवारिसे बनाइयो । यो नेपाली राजनीतिको मुख्य समस्या हो । त्यसको सिकार पछिल्लो समय १० वर्षे जनयुद्धका घाइते तथा सहिद पनि हुनुभयो । त्यो बेला हामी पनि माओवादी नै थियौँ, प्रचण्डजी र बाबुरामजीको नेतृत्वमा हामीहरू पनि थियौँ । तर हामीले त्यस समयदेखि नै ‘दाल में कुछ काला है’ भन्यौँ ।

कोही न कोही राजनीतिक आन्दोलनमा नेतृत्व गर्ने नेताहरूको विचार राजनीतिमा, प्रतिबद्धता र निःस्वार्थीपनमा गम्भीर समस्या छ । जसका कारणले गर्दा सहिदहरूले दुःख पाए । घाइते, अपाङ्गहरूले धोका पाए । र, आन्दोलन गर्ने श्रमजीवी जनताले पनि धोका पाए, जसले मुक्ति चाहेका थिए । त्यसैलाई करेक्सन गर्नुपर्छ भनेर हामीले तत्कालीन माओवादी छाड्यौँ ।

हामीले नेपाली राजनीतिको रिभ्यू गर्नुपर्छ भनेका छौँ । त्यस बेलादेखि यो पार्टी बनाएर हामी संघर्षमा छौँ । हामीले गरेको संघर्ष र वार्ता तथा सहमति पनि सहिदको मूल्यबोधका निम्ति हो । सहिदले चाहेको त सत्ता परिवर्तन र आफ्नो सत्ता र व्यवस्था परिवर्तनका निम्ति हो नि ! त्यसकारण राज्यसत्ता बदल्ने र शासन व्यवस्था बदल्ने उद्देश्यसहित जनताको शासन व्यवस्था, जनताको राज्य व्यवस्था बनायौँ भने सहिदको सपना त पूरा भयो नि ।

बाँकी, सहिदका परिवारलाई सहिदको आधारभूत आवश्यकता पूरा गर्ने राज्य भयो भने सहिदको सम्मान त्यही भया नि, त्यसैका निम्ति हामीले संघर्ष गरेका हौँ र अहिले सम्झौता गरेका छौँ ।

यो वार्ताबाट सहमतिको विन्दूमा चाहिँ कसरी पुगियो ?

देश बडो अप्ठारोमा गयो भन्ने कुराले पनि हामी वार्ताको लागि राजी भएका हौँ । राष्ट्रियता खतरामा परेको अवस्थामा हामीले आमजनतालाई समस्या समाधान र गोलबद्ध गर्ने, मोबिलाइज गर्नुपर्ने भयो भन्ने हामीलाई महसुस भयो । उहाँहरू (सरकारी पक्ष) ले सशस्त्र संघर्ष छोडेर बरु शान्तिपूर्ण राजनीति गर्ने हो भने हाम्रो सहमति हुन सक्छ भन्ने कुरा गरेपछि वार्ता तथा सहमतिका लागि हामी पनि तयार भएका हौँ ।

तर त्यसको लागि पनि हामीले सरकारसँग केही कुराहरू तपाईहरूले तत्काल समाधान गर्नुपर्छ भनेका थियौँ । प्रतिबन्ध फिर्ता लिने, बन्दी साथीहरूलाई फुकुवा, मुद्दा खारेजी लगायत कुरामा कुरा सरकार सकारात्मक बनेपछि हामी सहमतिमा आएका हौँ । उद्यपि थुप्रै बहसका कुराहरू बाँकी नै छन् ।

सँगै १० वर्षे जनयुद्ध लडेका सहयोद्धाले नै अविश्वास गरेको सरकारलाई तपाईंहरूले विश्वास गर्नुभयो नि ?

त्यस्तो होइन ! सरकारसँग हाम्रो दुईओटा कुरा हुन् । सरकारसँग हाम्रो डिभेट पनि छ, आलोचना पनि छ । देशमा अहिले जे समस्या छ, राष्ट्रियता एकपछि अर्को खतरामा छ । मानिसहरू निराश छन् । देश रहनयोग्य बनेन भन्ने भइरहेको छ । जनताको जीवन नै चल्न गाह्राे छ । हेर्दा लाग्छ कि देशमा अभिभावक नै छैन ।

अहिलेको सरकारको नेतृत्व गरिरहनुभएका केपी शर्मा ओली जीको सरकार र उहाँकाे पार्टी दुवैसँग हाम्रा असहमति छन् । अहिले यो समस्या पैदा गर्ने भनेको दलाल पुँजीपति वर्ग, त्यसको सत्ता र त्यसको व्यवस्था हो । त्यसलाई बदल्नुपर्छ भनेका छौँ हामीले । हिजो हामी संघर्षमा थियौँ, अहिले हामी शान्तिपूर्ण रुपमा छौँ । देशमा संकट उत्पन्न भयो, त्यो संकटबाट देशलाई निकाल्नका निम्ति नयाँ ढङ्गबाट सोच्न बाध्य भयौँ ।

यो सरकारसँग हाम्रो केही–केही मुद्दा मिलेको हो । जुनजुन मुद्दा मिल्यो, त्यही मुद्दामा हामीले सम्झौता ग¥यौँ । अरु पनि सरकारसँग हाम्रा बहसका विषय छन् । छलफलका विषय छन् । त्यो भोलि चल्दै जाला ।

अरु पार्टीका नेताले जस्तै तपाईहरूले पनि सत्ता नै हेर्नु भएको त होइन ?

राजनीतिक पार्टी र पेसा भनेको स्वयंसेवक हो । स्वयंसेवकको रुपमा देश र जनताको सेवा गर्ने हो । तर नेपालमा त्यस्तो भएको छैन । यो फाइदाको लागि चल्ने र लुटको पेसा भएको छ । त्यसैले त नेपालको राजनीति यति छिट्टै ड्यामेज भयो । राजनीति गर्ने मानिस, पार्टीहरू पनि ड्यामेज भए ।

हामी त अशान्ति मच्चाउने र संविधान नमान्ने भनेर प्रतिबन्धित नै गरियो, तर अहिले सत्ता र संसदीय राजनीति भित्र भएका कसै प्रति जनताको आशा र विश्वास छ ? १० वर्षे जनयुद्धमा जनताको आशा बोकेको पार्टीलाई छिःछि र दुरदुर गर्ने हामीले बनाइदिएको ?

नेतामा पैदा भएको विचलन, राष्ट्र र जनताप्रति गरेको गद्दारी र धोकाको परिणाम हो यो । हामीले पनि त्यसै गर्यौं भने भोलि हामी पनि त्यही हुन्छौँ । तर हाम्रो कुरा विगतमा जनतालाई धोका भयो भनेर त्यसका विरुद्ध हामीले संघर्ष गरेर आएकोले, हाम्रो विचारको दृष्टिले, राजनीतिक लाइन र हाम्रो प्रतिबद्धताको दृष्टिले पनि हामी त्यसो गर्नेवाला छैनौँ । बरु हाम्रो बलिदानी हुनेछ ।

हामीले देशका निम्ति बलिदान दिने भनेका छौँ तर जनताले मुक्ति पाउनुपर्यो । विगतमा जनताले पाएको धोकाको ब्याज-स्याज असुल हुनुपर्यो । जनता भोकभोकै मर्ने स्थिति हुनु भएन ।

देशमा दिदी–बहिनीको अस्मिता लुट्नेहरू होइनन्, अशान्ति मच्चाउने र आतङककारी ? हामीले त्यस विरुद्ध आवाज उठाउँदा हामी आतङकारी भयौँ ।

संसदीय दलको नेतृत्व गरिरहेका पार्टीहरूले करिब ३ दशकको सरकार नेतृत्व गर्दा पनि जनतामा निराशा छाइरहेको देखिरहेको छ । हामीले मात्र के भनेका छौँ भने तपाईंहरूले नेतृत्व गर्दा देशलाई यस्तै बनाउनुभयो, छोडदिनुस् अब हामी एकपटक हामी देशको जिम्मा लिन्छौँ, पाँच वर्षमा नेपाली जनताको आधाभूत आवश्यकता पूरा गर्ने ग्यारेन्टी दिन्छौँ ।

अरुले हामीलाई हेर्नुस्, डिस्टर्ब नगर्नु मात्र भन्छौँ । हामीलाई त धनी जनता गरिब नेता हुने व्यवस्था चाहिएको हो, यसैको लागि हामीले यो सम्झौता गरेका हौँ ।

तपाईंहरू मुलुकमा भ्रष्टाचार हुनुहुँदैन भन्ने गर्नुहुन्छ, यो कसरी न्यूनीकरण गर्न सकिन्छ ?

हाम्रो परिकल्पना नै भ्रष्टाचाररहित मुलक नै हो । हामी त अहिलेसम्म सडकबबाट भ्रष्टाचार विरुद्ध आवाज उठाउँदै आएका थियौँ । नेपालमा हुने कमिशनको खेल, भ्रष्टाचार, ब्याकमेलिङ, राष्ट्रद्रोही क्रियाकलापको अब हामी जनता समक्ष गएर भण्डाफोर गछौँ । नाङ्गेझार पार्छौं । हाम्रो आलोचना हुन्छ भने पनि होस् ।

हामीले पनि कतै गल्ती गर्याैँ भने हामी जनता समक्ष माफी मागिहाल्छाैँ । भ्रष्टाचार विरुद्धको आन्दोलन हामी नयाँ ढङ्गले अगाडि लान्छौँ । भ्रष्टाचार गर्ने विरुद्धका लागि नयाँ कानुन निर्माणको लागि तयार गर्नेहरूलाई समात्तै झेल हाल्नुपर्छ । भ्रष्टाचार मुख्य समस्या हो, यसको अप्रेशन सुरु हुन्छ ।

तस्वीरः महेश्वर के.सी. 

 

प्रतिक्रिया दिनुहोस्
LIVE TV