२१ फाल्गुन २०७७, शुक्रबार
  • शीतल भट्ट,

कञ्चनपुर, २१ फागुन । बिहीबार कञ्चनपुरको दक्षिणी सीमाक्षेत्र बेलौरी नगरपालिका ७ टेडियामा प्रहरी र भारतीय तस्करबीच भएको भीडन्तमा एक भारतीय तस्करको घटना स्थलमै मृत्यु भएको थियो ।

यो घटना पश्चात् शुक्रबार बेलौरीको सीमा क्षेत्रमा दुई देशका उच्च सुरक्षा पदाधिकारीबीच अनौपचारिक छलफल भएको छ ।

छलफलमा नेपालका तर्फबाट कञ्चनपुर प्रमुख जिल्ला अधिकारी राम कुमार महतो, कञ्चनपुर प्रहरी प्रमुख उमाप्रसाद चतुर्बेदी, कञ्चनपुर सशस्त्र प्रहरी प्रमुख विरेन्द्र ऐर, र भारतीय पक्षबाट पिलिभित जिल्ला प्रहरी प्रमुख जय प्रकाश, प्रहरी महानिरीक्षक अभिनास चन्द, डीएम पुलकित खरे लगायतका उच्च पदाधिकारी रहेका थिए ।

उक्त घटनाको सन्दर्भमा सामूहिक समीक्षा गर्दै यस्ता घटना नदोहोरिन नदिन दुबै देशका तर्फबाट सीमा सुरक्षा र सतर्कता बढाउने सहमति भएको बताइएको छ ।

खुला सिमानामा हुने गैरकानुनी कार्यको दुवै देशका सुरक्षा निकायले आ–आफ्नो क्षेत्रबाट निगरानी गर्दै लुकिछिपी गैरकानूनी कार्य गर्ने जो सुकैलाई पनि कानूनी दायरामा ल्याउने छलफल गरिएको कञ्चनपुर प्रमुख जिल्ला अधिकारी राम कुमार महतोले बताए ।

बिहीबार साँझ बेलौरी नगरपालिका ७ टेडिया कालो पुल नजिक भारतीय तस्कर र प्रहरीबीच अन्धाधुन्ध गोली हानाहान हुन भारतीको पिलिभित जिल्ला थाना हजारा ४ बुदान बस्ने २६ बर्षीय तस्कर गोविन्दा सिंहको घटना स्थलमै मृत्यु भएको थियो ।

जवाफी कारवाहीमा परि मृत्युु भएका सिंहलाई शुक्रबार आफन्तको जिम्मा लगाउदै पोष्ट मार्टमका लागि सेती अस्पताल धनगढी पठाइएको कञ्चनपुर प्रहरीले जनाएको छ । अर्का एक फरार घाइते तस्करको भारतको लखनउमा उपचार भइरहेको छ ।

मृतक सिंहको छातिमा गोली बर्षिएको थियोे भने फरार तस्करको खुट्टा र पेटमा गोली लागेको प्रहरीले जनाएको छ । घटना स्थलबाट प्रहरीले नक्कली नोट छाप्ने मेसिन एक थान, त्यसमा प्रयोग हुने कागज, कटर, सलाई, सेलोटेप, रुलर, पाउडर र लागूऔषध खैरो हिरोइन जस्तो देखिने धुलो पद्दार्थ समेत फेला परेको इलाका प्रहरी कार्यालय बेलौरीका जनाएको छ ।

भारतसँग खुल्ला सीमा जोडिएको कञ्चनपुरको दक्षिणी क्षेत्र अवैध धन्दा, चोरी, तस्करीका लागि ट्रान्जिट प्वाइन्ट बन्दै गएको प्रति कञ्चनपुरको दक्षिणी सिमा क्षेत्रका स्थानीय र सरोकारवाला निकायले चिन्ता व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV