२१ फाल्गुन २०७७, शुक्रबार
  • कृष्ण थपलिया,

सर्लाही, २१ फागुन । गाउँपालिकाको केन्द्र सार्न खोजिएपछि सर्लाहीको चन्द्रनगरमा तनाव उत्पन्न भएको छ ।

वडा नं. ६ र ७ को बीच भागमा पर्ने नाढीमन ताल परिसरमा रहेको गाउँपालिकाको केन्द्र गाउँपालिका अध्यक्षको गाउँमा वडा नं. २ बबरगञ्जमा सार्न खोजिएको भन्दै स्थानीय आक्रोशित भएका हुन् ।

आक्रोशित स्थानीय र प्रहरीबीच सामान्य झडप समेत भएको छ । झडपका क्रममा केही स्थानीय घाइते समेत भएका छन् । आक्रोशित स्थानीयले गाउँपालिका अध्यक्ष महतोको नजिक रहेर काम गर्दै आएका कैलाश साहलाई हातपात गरेका छन् ।

प्रहरीले तनावको स्थितिलाई सामान्य बनाउन एक दर्जन बढी अश्रुग्याँस प्रहार गरेको छ । केही समय असहज स्थिति सिर्जना भएपनि अहिले भने अवस्था सामान्य बनिसकेको सर्लाहीका निमित्त प्रमुख जिल्ला अधिकारी भुमिश्वर पोखरेलले बताए ।

गाउँपालिकाको केन्द्र सार्न खोजिएको बबरगञ्ज गाउँ गाउँपालिका अध्यक्ष महेन्द्र महतो महतो र उनका दाई जनता समाजवादी पार्टी (जसपा) का नेता राजेन्द्र महतोको गृह गाउँ पनि हो ।

गाउँपालिकाको केन्द्र अहिलेकै स्थानमा रहनुपर्ने मागसहित वडा नं. ६ र ७ का स्थानीय वासिन्दासँगै नेपाली काँग्रेस र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता कार्यकर्ताले गाउँपालिका कार्यालयमा तालाबन्दी गरेका छन् ।

चन्द्रनगर गाउँपालिकाका अध्यक्ष महेन्द्र महतोले अहिलेसम्म गाउँ सभाबाट केन्द्र सार्ने निर्णय नभएको र गाउँ सभाबाट बहुमतले निर्णय भए सर्न पनि सक्ने बताए । उनका अनुसार अहिलेसम्म गाउँपालिकाको केन्द्र सार्ने पक्षमै बहुमत रहेको छ ।

स्थानीय बासिन्दाले बबरगञ्जमा गाउँपालिकाको भवननै नभएपनि केन्द्र सार्न केही दिनदेखि रातारात कागजात ओसार्ने काम भएको स्थानीय वासिन्दाले दाबी गरेका छन् ।

केन्द्र सार्नेबारे निर्णय गर्न भोलि बबरगञ्जस्थित दूर्गा खोभारी जनता माध्यमिक विद्यालयमा गाउँपालिकाको विशेष गाउँ सभा बोलाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV