२० फाल्गुन २०७७, बिहीबार
  • सुशीलबाबु थकाली,

मुस्ताङ, २० फागुन । मुस्ताङको थासाङ गाउँपालिका–३ कालोपानीस्थित स्वर्गीय श्वेता अवस्थीको नाममा रु. ५० हजारको अक्षयकोष खडा गरिएको छ ।

लेतेस्थित ज्ञानोदय माविमा उनको स्मृतिमा समाजसेवीद्वय आत्मा तुलाचन र बिकल शेरचनको संयुक्त संरक्षण हुने गरि उक्त अक्षयकोष खडा गरिएको हो ।

लामो समयदेखि मृगौलाको बिरामीका कारण थला परेकी स्वर्गीय अवस्थी गत माघ महिनाको ७ गते कोरोना भाइरस (कोभिड–१९)को कारण मृत्यु भएको थियो । यद्यपि लामो समयदेखि मृगौलाको उपचाररत अवस्थीको दुबै मृगौलाले काम गर्न छोडेको थियो ।

उनलाई बचाउनका लागि हर क्षेत्रबाट आर्थिक, नैतिक, भौतिक र सामाजिक तवरबाट सहयोग भएको थियो । सामाजिक काममा सधैं अग्रसर समाजसेवी बिकल शेरचन र आत्मा तुलाचनले देश तथा बिदेशमा रहेका सबै नेपाली दाजुभाइ तथा दिदीबहिनीसँग सहयोगको अपील गरेर अवस्थीको उपचारका लागि करीब ८ लाख पचास हजार बराबरको आर्थिक सहयोग जुटेको समाजसेवी बिकल शेरचनले बताउनुभयो ।

उनले भने, ‘हर तवरबाट उनलाई बचाउने प्रयास गरेपनि बचाउन सकिएन ।’ खान पुगोस्, दिन पुगोस भन्ने मानवीय भावनाले ओतप्रोत अभिप्रायसहितको अभियानमा सारा नेपालीले स्वर्गीय अवस्थीलाइ करीब १० लाख ९७ हजार १ सय २१ रुपैयाँ बराबरको आर्थिक सहयोग गरेको शेरचनले बताए ।

कार्यक्रममा शेरचनले यूकेबाट समाजसेवी सुधा गुरुङले गरेकी आर्थिक सहयोगको खुलेर प्रशंसा गरेका थिए । साथै अवस्थीको दस्र्घायूको कामनाका लागि आर्थिक सहयोग गर्ने सारा मुस्ताङबासी दाजुभाइ, दिदिबहिनी र बुबाआमा साथै सारा शुभचिन्तकहरुलाइ आभार व्यक्त गरेका थिए ।

स्वर्गीय श्वेता अवस्थी श्री ज्ञानोदय माविको भूपू विद्यार्थी समेत हुन् । आज भएको उक्त श्वेता अवस्थीको स्मृतिमा अक्षयकोष निर्माण र रकम हस्तान्तरण कार्यक्रममा बोल्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष यसबहादुर गौचनले उनको नाम विद्यालयमा सधैं अमर रहिरहने बताए ।

विद्यालयसँग उनको नाता अब हरेक वर्ष बार्षिक उत्सवमा स्मरण रहने समेत उनले बताए । उनले भने, ‘परिवारमा अहिले जे बितिरहेको छ । त्यो हामीलाई पनि पीडाबोध भएको छ । जुन जुन क्षेत्रबाट अवस्थीको लागि मल्हम लगाउन सहयोग भयो त्यसले सारा लेते–कालोपानी बासीले मुक्तकण्ठले प्रशंसा गर्नेछ ।’

यसैबीच कार्यक्रमलाई सम्बोधन गर्दै वडा अध्यक्ष चन्द्र बहादुर शेरचनले थासाङ गाउँपालिका–३ स्थित सबै तह र तप्काका व्यक्ति तथा संघ संस्थाहरूलाइ धन्यवाद एवम् आभार प्रकट गरेका थिए ।

स्वर्गीय अवस्थीलाइ बचाउन सारा मुस्ताङबासीले देखाएका अन्तरमनको मानवीयता शब्दमा बयान गर्न समेत गाह्रो हुने शेरचनेल बताए ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV