२० फाल्गुन २०७७, बिहीबार

काठमाडौं,२० फागुन । नेकपा प्रचण्ड–नेपाल पक्षका अध्यक्ष माधवकुमार नेपालले मुलुकलाई अघि बढाउनका लागि सहकार्य गर्न कांग्रेस र जनता समाजवादी पार्टी जसपालाई आग्रह गर्नुभएको छ ।

समाजवादी प्राध्यापक संघले बिहीवार काठमाडौंमा आयोजना गरेको वर्तमान राजनैतिक संकट र त्यसको समाधान बिषयक बिचार गोष्ठिमा अध्यक्ष नेपालले मुलुकलाई अघि बढाउनका लागि कांग्रेस र जसपासंग सहकार्य गर्न तयार रहेको भन्दै सहकार्यमा आउन आग्रह गर्नुभएको हो ।

अध्यक्ष नेपालले सहकार्यका लागि कांग्रेसबाट जवाफ नआएको धारणा पनि राख्नुभयो । त्यस्तै उहाँले आफुहरुसंग सूर्य चिन्हको नेकपाको बहुमत रहेपछि निर्वाचन आयोगले समयमा नै निर्णय गर्न नसकेको भन्दै आक्रोश व्यक्त गर्नुभयो ।

त्यस्तै अध्यक्ष नेपालले सवै दलहरुसंगको छलफलपछि नै अविश्वासका प्रस्ताव अघि बढाउने उल्लेख गर्नुभयो । उहाँले मोहका कारण ओली पक्षमा गएका नेताहरु पनि क्रमश आफुहरुको पक्षमा आइरहेको दावी गर्नुभयो ।

कार्यक्रममा जसपाका अध्यक्ष उपेन्द्र यादवले लोकतान्त्रीक पद्धतिलाई ट्रयाकमा ल्याउनुपर्ने बताउनुभयो । उहाँले नेकपाको विवादलाई निर्वाचन आयोगले समयमा नै टुङ्ग्याउन नसके थप अस्थीरता उव्जीने धारणा पनि राख्नुभयो ।

त्यस्तै कांग्रेसका युवा नेता प्रदीप पौडेलले नेकपाले दुईतिहाई ल्याएपनि मुलुकमा अस्थीरता कायमै रहेकाले यसले आंशका पैदा भएको धारणा राख्नुभयो ।

उहाँले संविधान विपरीत संसद बिघटन गरेर प्रधानमन्त्रीले अहंकार देखाएको आरोप लगाउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV