२० फाल्गुन २०७७, बिहीबार

काठमाडौं, २० फागुन । नेकपा उपाध्यक्ष वामदेव गौतमले नेकपा पुष्पकमल दाहाल ‘प्रचण्ड’–माधवकुमार नेपाल पक्ष र केपी शर्मा ओली पक्षका दोस्रो पुस्ताका नेतालाई एकताबद्ध गरी पार्टी एकताका निम्ति दबाब दिने बताएका छन् ।

बिहीबार कोभिड–१९ विरुद्धको खोप लगाउन निजामती अस्पताल बानेश्वर पुगेका उनले दाहाल–नेपाल र ओली समूहका दोस्रो तहका नेताहरूलाई एकताबद्ध गरी एकता अभियान अगाडि बढाउने बताएका हुन् ।

उनले सञ्चारकर्मीसँग भने, ‘धेरै ठाउँमा उहाँहरुले बोलेको कुरा सुन्दा एकताको पक्षमा दुवै अध्यक्ष अझै आइसक्नु भएको छैन । मेरोचाहिँ प्रयत्न के छ भने केपी ओलीतिर रहेका सेकेन्ड जेनेरेसनका र दाहालतिर रहेका सेकेन्ड जेनेरेसनका कमरेडहरुलाई एकताबद्ध गर्ने, तलबाट एउटा ठूलो पंक्ति तयार गर्ने र एकताको पक्षमा र जुन नेता एकताको पक्षमा हुनुहुन्न उहाँलाई भोट नदिने । यो अभियान अब हामीले चलाउँदै छौं र चारैतिरबाट यी दुइटा नेतालाई घेराबन्दी गर्न सकियो भने एकता गर्न सकिएला ।’

पहिलो त केपी र पुष्पकमलबीचकै एकतालाई मान्ने पनि उनले बताएका छन् । उनले भने, ‘पहिलो एकता केपी र पुष्पकमलबीचकै एकतालाई मान्ने हो, अरूले एकता गर्दैमा त्यो एकता हुँदैन । जनताले मान्दैन, विश्वले पनि मान्दैन । दुइटालाई एकताबद्ध गरेपछि फेरि यो पार्टी एकताबद्ध भयो भन्ने हुन्छ ।’

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV