२० फाल्गुन २०७७, बिहीबार

काठमाडाैं, २० फागुन । नेपाल कम्युनिस्ट पार्टी प्रचण्ड–माधव समूहले ओली समूहका संसदीय दलका उपनेता सुवास नेम्वाङसहितका ७ नेतालाई कारबाही गरेको छ । पार्टी हितविपरीत गतिविधि गरेको भन्दै सात नेतामाथि कारबाही गर्ने निर्णय गरेको हो । बैठकले नेम्वाङलाई संसदीय दलको उपनेताबाट तत्काल राजीनामा दिन पनि निर्देशन दिएको छ ।

पार्टी कार्यालय पेरिसडाँडामा बुधबार बसेको केन्द्रीय कमिटीको बैठकले नेताहरु महेश बस्नेत, विशाल भट्टराई, शान्ता चौधरी, सूर्य थापा, प्रभु साह र कर्णबहादुर थापालाई पार्टीबाट निलम्बन गर्ने निर्णय गरेको छ । प्रचण्ड–नेपाल समूहका स्थायी कमिटी सदस्य भीम रावलले पार्टीको हितविपरीत गतिविधि गरेकाले सात जनामाथि कारबाही गर्ने निर्णय गरेको बताउनुभयो ।बैठकले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीलाई संसद् पुनःस्थापित भएसँगै नैतिकताको आधारमा पदमा बस्ने अधिकार नरहेको बताउँदै तत्काल राजीनामा दिनुपर्ने माग गरेको छ । बैठकले संसद् पुनःस्थापना भइसक्दा पनि पदमा टाँसिइरहेको भन्दै ओलीको निन्दा गरेको छ ।

आफूमाथि शारीरिक आक्रमण हुन सक्ने भनेर प्रधानमन्त्री ओलीले दिएको अभिव्यक्ति षड्यन्त्रपूर्ण र गैरजिम्मेवारीपूर्ण भएको समेत प्रचण्ड–माधव समूहको ठहर छ । रावलले केन्द्रीय कमिटी बैठकले पार्टीको आधिकारिकता विवादमा छिटो निर्णय गर्न निर्वाचन आयोगको ध्यानाकर्षण गराउने निर्णय गरेको बताउनुभयो । याे खबर नेपाल समाचारपत्र दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV