२० फाल्गुन २०७७, बिहीबार

एजेन्सी, २० फागुन । बार्सिलोना स्पेनिस कोपा डेल रेको फाइनलमा प्रवेश गरेको छ ।

सेमिफाइनलको दोस्रो लेगको खेलमा सेभिल्लालाई ३–० ले पराजित गर्दै समग्रमा ३–२ को निकाल्दै बार्सिलोनाले प्रतियोगिताको उपाधि नजिक पुगेको हो । यसअघि सेमिफाइनलको पहिलो लेग सेभिल्लाले बार्सिलोनामाथि २–० को जित निकालेको थियो ।

बार्सिलोनालाई जित दिलाउनका लागि ओस्मान डेम्बेले, जेरार्ड पिकेले र मार्टिन ब्रेथवेटले समान एक-एक गाेल गरे ।

खेलको १२ औं मिनेटमा डेम्बेलेले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए ।

खेलको ७१ औं मिनेटमा पेनाल्टीमा चुक्दा सेभिल्लाले फाइनलमा स्थान पक्का गर्ने सुवर्ण अवसर खेर फाले ।

ओस्कार मिन्गुएजाले पेनाल्टी क्षेत्रभित्र लुकास ओकाम्पसलाई लडाएपछि रेफ्रीले पेनाल्टी दिएका थिए । तर ओकाम्पसको प्रहरलाई गोलरक्षक मार्क आन्दर टेर स्टेगनले विफल परिदिए ।

निर्धारित ९० मिनेटको खेल सकिन लाग्दा १-० ले पछि पर्दै प्रतियोगिताबाट बाहिरिन लागेकाे बार्सिलोनाले इन्ज्युरी समयको अन्तिम मिनेटमा गोल गरेपछि खेल अतिरिक्त समयमा लम्बिएको थियो ।

इन्ज्युरी समयमा पिकेले गोल गरेपछि खेल अतिरिक्त समयमा पुगेको थियो । उनले एन्टोइन ग्रिजमनको क्रसमा हेडमार्फत गोल गरेका थिए ।

१० खेलाडीमा सिमित सेभिल्ला थप समयको पाँचौ मिनेटमा समग्रमा १ गोलले पनि पछि पर्यो । जोर्डी अल्बाको क्रसमा ब्रेथवेटले हेडमार्फत गोल गरेका थिए ।

त्यसपछि दुवै टोलीबाट गोल हुन नसक्दा बार्सिलोना प्रतियोगिताको उपाधि नजिक पुग्यो । सेभियाले त्यसपछि एक गोल गरेको भएपनि अवे गोलको आधारमा फाइनल पुग्ने थियो, तर त्यसो हुन सकेन ।

कप्तान लिओनेल मेस्सीले खेलमा गोल वा असिस्ट प्रत्यक्ष प्रदान नगरेपनि खेलमा प्रभाव भने जमाएका थिए ।

कोपा डेल रे को दोस्रो सेमिफाइनलमा एथ्लेटिक बिल्बाओ र लेभानते भिड्दैछन् । पहिलो लेगको खेलमा बिल्बाओ घरेलु मैदानमा ११ को बराबरीमा रोकिएको थियो । दोस्रो लेग बिहीबार हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV