१९ फाल्गुन २०७७, बुधबार
  • बाल बिक्रम कार्की,

रौतहट, १९ फागुन । रौतहटमा पूर्व प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवालाई १ सय २१ किलोको मालाले स्वागत गरिएको छ ।

जिल्लाको बागमती किनार छेउमा रहेको गढीमाई नगरपालिका–६ धर्मपुरस्थित श्री १०८ विष्णु महायज्ञको उद्घाटन गर्न रौतहट आएका सभापति देउवालाई स्थानीय नेपाली काँग्रेसका नेता, कार्यकर्ताले १ सय २१ किलोको मालाले स्वागत गरेका हुन् ।

सभापति देउवालाई रौतहटका जनताको तर्फबाट मायाको कोसेलीसहित सम्मान देखाउन १ सय २१ किलोको मालाले स्वागत गरिएको नेपाली काँग्रेस रौतहटका युवा नेता नितेश गुप्ताले बताए ।

उनले सभापति देउवाद्वारा रौतहटको पावन भूमि तथा महायज्ञ जस्तो पवित्र धार्मिक कार्यक्रममा चासो देखाएर सहभागिता जनाउनु जिल्लावासीकै लागि खुसीको कुरा रहेको भन्दै सो माला लगाएर जिल्लावासीको तर्फबाट आफूहरुले आभार पनि प्रकट गरेको बताए ।

धार्मिक पर्यटनलाई बढावा दिने उद्देश्यले आयोजना गरिएको सो श्री १०८ विष्णु महायज्ञको पूजा ११ दिन सञ्चालन हुने र धार्मिक तथा मनोरञ्जनात्मक मेला पनि समेत लाग्ने गढीमाई नगरपालिकाका नगर प्रमुख श्याम यादवले जानकारी दिए ।

मेलाको उद्घाटन सभापति देउवाले रिवन काटेर गरेका थिए । कार्यक्रममा सहभागी हुन हेलिकप्टर चढेर रौतहट आएका देउवा कार्यक्रम सकेलगतै चितवन गएका थिए ।

सो कार्यक्रममा नेपाली काँग्रेसका मकवानपुर जिल्ला सभापति एवं बागमती प्रदेशका संसदीय दलका उपनेता, पूर्व गृहराज्यमन्त्री ईन्द्रप्रसाद बानियाँ, जिल्लासभापति कृष्णप्रसाद यादव, प्रतिनिधि सभा सदस्य देवप्रसाद तिमल्सिना, संविधानसभा सदस्य सुनिल कुमार यादव लगायत ठूलो संख्यामा स्थानीय नेता कार्यकर्ताहरुको बाक्लो उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV