१९ फाल्गुन २०७७, बुधबार
  • बाल बिक्रम कार्की,

रौतहट, १९ फागुन । नेपाली काँग्रेसका केन्द्रीय सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले पूर्वमन्त्री मोहम्मद अफ्ताव आलमलाई धैर्य गरेर बस्न आग्रह गर्नुभएको छ ।

जिल्लाको बागमती किनार छेउमा रहेको गढीमाई नगरपालिका–६ धर्मपुरस्थित श्री १०८ विष्णु महायज्ञको उद्घाटन गर्न रौतहट आउनुभएका सभापति देउवाले आलमलाई छुटाउन आफू लागिपरेको बताउनुभएको हो ।

‘हाम्रा यहाँका साथी जेलमा हुनुहुन्छ । म उहाँलाई छुटाउन लागि रहने छु’, उहाँले भन्नुभयो, ‘अहिले अदालतको कुरा हो उहाँले धैर्य राखेर चिन्ता नलिई बस्नुभयो भने भोलिका दिनमा परिस्थिति बदलिन्छ । त्यसका लागि पनि उहाँलाई निर्धक्क साथ बस्नुहोला, भन्न चाहन्छु ।’

त्यस्तै, उहाँले आलमलाई छुटाउने प्रतिवद्धता गरिरहँदा कार्यक्रम स्थलमा तालीसमेत बजेको थियो । अर्को एक प्रसंगमा उहाँले आफू हिन्दू भएपनि सबै धर्मप्रति आस्था राख्ने बताउँदै नेपालमा सबै धर्म मान्नेहरु मिलेर शान्तिपूर्ण रुपमा बसेको उदाहरण दिनुभयो ।

उहाँले कोरोना संक्रमणको जोखिममा कमी नआएको भन्दै कोरोना संक्रमणबाट बच्न सामाजिक दूरी कायम गर्दै मास्कको नियमित प्रयोग गर्न पनि स्थानीयलाई सुझाउनुभयो । श्री १०८ विष्णु महायज्ञको पूजा ११ दिनसम्म हुने र सो स्थानमा धार्मिक तथा मनोरञ्नात्मक मेलासमेत लाग्ने गरेको यज्ञ समिति एवं गढीमाई नम्बर ६ का वडाअध्यक्ष रामसिन्हासन यादवले जानकारी दिनुभयो ।

दर्जनौं व्यक्तिलाई इट्टाभट्टामा जिउँदै जलाएको आरोपमा पक्राउ परेका पूर्व मन्त्री एवं रौतहट क्षेत्र नम्बर २ का सांसद मोहम्मद अफताव आलमलाई रौतहट जिल्ला अदालतले पूर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ । हाल उनी केन्द्रीय कारागार काठमाडौँमा रहेका छन् ।

प्रथम संविधानसभाको अघिल्लो दिन वि.सं. २०६४ चैत २७ गते राति अहिलेको राजपुर नगरपालिकाको फरदवा गाउँमा नोपली काँग्रेसका नेता शेख इद्रिसको घरमा निर्वाचनलाई लक्षित गरेर बम बनाउँदै गर्दा बम बिस्फोट हुँदा घाइते भएकाहरुलाई उपचार गर्नुको सट्टा जिउँदै इट्टाभट्टामा जलाएको आरोप आलममाथि लागेको छ ।

आलम गत प्रतिनिधि सभाको निर्वाचनमा रौतहट क्षेत्र नम्बर २ बाट १८ हजार ८३३ मत ल्याएर विजयी भएका थिए ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV