१९ फाल्गुन २०७७, बुधबार
  • भगतराम थारु,

बाँके, १९ फागुन । कोहलपुर नगरपालिका–११ शान्ति नगरका बासिन्दाहरुले आफ्नो बसाईसराई दर्ता नगरिदिएको भन्दै कोहलपुर नगरपालिका कार्यालय अगाडि धर्ना दिएका छन् ।

नगर विकास समिति कोहलपुर शान्तिनगरका बासिन्दाहरुले आफूहरुको बसाईसराई दर्ता गराईदिन र अव्यवस्थित भूमिहीन नागरिकलाई स्थायी गराउन माग गर्दै धर्ना दिएका हुन् ।

कोहलपुर नगरपालिका–११ शान्तिनगर निवासी पुष्पा चौधरीले नगरविकासको जग्गा भएको बताउँदै उठाउन खोजिएको कारण ११ दिनदेखि आन्दोलनमा सहभागी भएको जानकारी गराइन ।

भोक प्यास नभनी आफूहरुको बसोबासको बन्दोबस्त गर्न उनले रातदिन आन्दोलनमा उत्रिएको जानकारी दिइन । जतिसुकै शान्तिपूर्ण आन्दोलन गर्दा पनि राज्यले केही सुनवाई नगरेको उनले गुनासो छ । यदि सरकारले नेपाली नागरिकको हकअधिकारका लागि केही सुनुवाई गर्दैन भने आफूहरुलाई नेपालको सीमा कटाई दिन आग्रह पनि गरेकी छन् ।

२०५६ सालमा २६ ओटा जिल्लाबाट नागरिकहरुले बसाईसराई गरी कोहलपुर आएको बताउदै नगरपालिकाले आफूहरुको बसाईसराई दर्ता नगराईदिएको हरि बहादुर केसीले बताए । उनले आफ्नो माग पूरा गर्न भन्दै फागुन ९ गतेदेखि धर्ना अभियानमा लागेको बताए ।

बसाईसराई दर्ता नगराईदिएको कारण पनि नागरिकको जन्मदर्ता, मृत्युदर्ता, लगत, नागरिकता समेत बनाउनबाट बन्चित भएको केसीले बताए । सर्बेच्च अदालतले समेत बसाईसराई दर्ता गरिदिन निर्देशन दिएको भएपनि स्थानीय सरकारले दर्ता नगराइदिएको राज बहादुर विकले गुनासो पोखे ।

उनले बसाईसराई नहुँदा आफूहरु भूमिहीनको लागत संकलन फारम समेत भर्न नपाएको बताए । बसाईसराई दर्ता गरेर भूमिहीनको लगत संकलन कार्यमा सहभागी नगराउँदासम्म धर्ना जारी राख्ने बताए ।

धर्नामा सहभागीहरुले अव्यवस्थित बसोबासी भूमिहीनहरुको समस्या सुनिश्चित गर्न, बसाईसराई भएका घरधुरी कर कायम गर्न कोहलपुर नगरपालिकासँग आग्रह गरे ।

अव्यवस्थित भूमिहीन तथा सुकुम्वासी समिति कोहलपुर नगरपालिका–११ बाँकेका संयोजक तिलक सिजापतीले लामो समय शान्तिपूर्ण आन्दोलन जारी राख्दा पनि वडा कार्यालय र नगरपालिकाले वास्ता नगरेकाले आन्दोलनलाई परिमार्जित गरि कडाईका साथ आन्दोलन जारी गर्ने निर्णय गरिएको बताए ।

लगातार ११ औं आन्दोलन जारी राख्दा पनि सुनवाई र वार्ता दुवै भएको हुनाले बुधवारदेखि आन्दोलनलाई शसक्त बनाई नगरपालिकाको गेटमै २४ सैं घण्टा धर्ना दिइने सिजापतीले बताए ।

‘सम्पूर्ण अव्यवस्थित भूमिहीन दलित सुकुम्बासी एकजुट होऔं’ भन्ने मुल नाराका साथ बुधवार पनि कोहलपुर नगरपालिकामा विरोध ¥याली तथा धर्ना कार्यक्रम गरिएको हो । धर्नाका कारण नगरपालिका र वडा नम्बर ११ को कार्यालयको कामकाज प्रभावित भएको छ ।

कोहलपुर नगरपालिकाका मेयर लुटबहादुर रावलले कोहलपुर नगरपालिका–११ शान्तिनगरका बासिन्दाहरुले बसोबास गदै आएको जग्गा नगरविकास समिति कोहलपुरको नाममा दर्ता भएको नम्बरी जग्गा भएकोले उक्त जग्गामा मानिसहरुको बसाईसराई दर्ता गर्न नमिल्ने बताए ।

उनले जग्गा खाली गर्नुपर्ने भन्दै बारम्बार आग्रह गर्दा पनि त्यहाँका बासिन्दाहरुले नमानेको बताउँदै भूमिहीन र एैलानी जग्गामा बस्ने नागरिकहरुको समस्या समाधान गर्न आयोग गठन गरेको र उक्त आयोगमा फारम दर्ता गराईदिने भनिएपनि कोहलपुर नगरपालिका–११ शान्तिनगरका बासिन्दाहरुले घरधुरी कर, बसाईसराई, विवाह दर्ता, जन्मदर्ता आदि गराईदिने र आयोगमा समेत फारम भरिदिने भन्दै अटेर गरेर बसेको बताए ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV