१९ फाल्गुन २०७७, बुधबार
  • तारा आचार्य,

विराटनगर,  १९ फागुन । प्रदेश नम्बर एकको प्रदेशसभामा मुख्यमन्त्री शेरधन राईविरुद्धको अविश्वास प्रस्तावमाथिको छलफल दुई साता पछि सारिएको छ ।

सभामुख प्रदीपकुमार भण्डारीले यही फागुन ९ गते प्रदेशसभा बैठकमा अविश्वास प्रस्ताव पेश भएसँगै फागुन २० गतेसम्मका लागि बैठक स्थगित गरेका थिए ।

त्यस्तै, प्रदेशसभा सचिवालयले बैठक बस्ने एक दिन अगाडि (आज) मात्रै सूचना जारी गर्दै आगामी चैत २ गतेसम्मका लागि सारिएको जनाएको हो ।

प्रदेशसभा नियामवली २०७४ को नियम ६ को उपनियम ३ बमोजिम चैत २ गतेसम्मका लागि बैठक सारिएको जारी सूचना उल्लेख गरिएको छ । जारी सूचना अनुसार अबको बैठक चैत २ गते सोमबार १२ः३० बजे बस्ने भएको छ ।

जारी सूचनामा भनिएको छ, ‘यस प्रदेशसभाको सातौं तथा हिउँदे अधिवेशनको चौथो बैठक मिति २०७७ फागुन २० गते विहीबार दिनको १ बजे बस्ने गरी तोकिएकोमा विशेष कारणले उक्त बैठक मिति २०७७ चैत २ गते सोमबार दिनको १२ः३० बजे प्रदेश सभाहल, प्रदेश नम्बर १ विराटनगरमा बस्ने ब्यहोरा प्रदेशसभा दस्यहरुको जानकारीका लागि प्रदेशसभा नियामवली २०७४ को नियम ६ को उपनियम ३ बमोजिम सभामुखको आदेशानुसार यो सूचना प्रकाशित गरिएको छ ।’

प्रतिक्रिया दिनुहोस्
LIVE TV