१९ फाल्गुन २०७७, बुधबार

काठमाडौं, १९ फागुन । त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धनप्राप्त आदिम कलेजले ‘आदिम इन्नोभेसन स्टार्टअप फण्ड’ स्थापना गरेको छ ।

कलेजले ब्याचलर्स अफ कम्प्युटर एप्लिकेसन (बीसीए) पढ्ने विद्यार्थीलाई लक्षित गर्दै त्यस्तो फण्ड स्थापना गरेको हो । १० लाख रुपैयाँसहित सुरु गरिएको फण्डबाट विद्यार्थीले गर्न चाहेको व्यवसाय सुरु गर्न सहयोग जुटाउन सक्नेछन् ।

हिमालय होटलमा एक कार्यक्रमका बीच उद्घाटन गरिएको इन्नोभेसन फण्डबाट विद्यार्थीलाई स्वदेशमै सम्भावना र अवसर सिर्जना गर्दै उद्यमशीलतातर्फ उन्मुख गराउने कलेजका प्रिन्सिपल शंकरप्रसाद शर्माले बताए ।

इन्नोभेटिभ आइडिया तथा कन्सेप्टलाई वास्तविकतामा उतार्न फण्डले सहयोग गर्नेछ । फण्डलाई प्रोडक्टको ब्राण्डिङ र मार्केटिङमा समेत खर्च गर्न सकिनेछ । फण्डले उद्यमशीलताको यात्रा सुरू गर्न विद्यार्थीलाई प्रेरित गर्ने विश्वास लिइएको प्रिन्सिपल शर्माले बताए ।

फण्ड स्थापना कार्यक्रममा उपस्थित राष्ट्रिय आविष्कार केन्द्रका सञ्चालक महावीर पुनले विद्यार्थीको व्यावसायिक सुरुवातमा कलेज नै सहयोगी बनेको यो पहिलो पटक भएको बताए ।

कार्यक्रममा प्राडा सुवर्ण शाक्यले आदिम कलेजको नवीन प्रयासले नेपालको शैक्षिक क्षेत्रमा उद्यमशीलतालाई प्रवर्द्धन गर्ने नयाँ आयाम सिर्जना गर्ने बताए ।

आदिम कलेजले ब्याचलरमा बीसीए, बीबीएस, बीएसडब्लूका साथै प्लस टु लेभलमा साइन्स, म्यानेजमेन्ट विषय पढाइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV