१८ फाल्गुन २०७७, मंगलवार

भोजपुर, १८ फागुन । भोजपुर जिल्ला ब्याडमिन्टन संघको आयोजना तथा भोजपुर नगरपालिकाको मुख्य प्रायोजनमा प्रदेश १ स्तरीय मेयर कप ब्याडमिन्टन प्रतियोगिता भोलिबाट हुने भएको छ ।

प्रतियोगिताका लागि सम्पूर्ण तयारी पूरा भइसकेको छ । प्रतियोगिताका लागि रेफ्री अनुप शाक्यको नेतृत्वमा म्याच कन्ट्रोल एवं अन्तर्राष्ट्रिय अम्पायर सुमित शाक्य र अम्पायर केदार धिमाल हिजो सोमबारनै भोजपुर आइपुगेका छन् ।

यस्तै भोलि हुने प्रतियोगिताका लागि पूर्वाञ्चलका जिल्लाबाट खेलाडीहरुका साथै भोजपुरका नम्बर एक खेलाडी रत्नजित तामाङ्ग, नविन श्रेष्ठ, पविन लिनथेप, पेम्बा शेर्पा, दिबश संकर, सुजन श्रेष्ठ, प्रनिश सिंह ठकुरी पनि भोजपुर आइपुगेका छन् ।

यस्तै भोजपुरमै रहेकी महिला नम्बर एक खेलाडी नङ्गशल तामाङ्ग, धेरै लामो समयदेखि धरायसी कारण प्रतियोगितामा उपस्थित हुन नसकेका पूर्व राष्ट्रिय खेलाडी विवेक श्रेष्ठ, बिशाल तामाङ्ग लगायत खेलाडीहरु आफ्नै स्थानमा प्रतियोगिता हुन लागेको र सहभागिता जनाउन पाउने कारण हर्षित भएका छन् ।

धेरै लामो समयदेखि घरायसी कारणले प्रतियोगितामा सहभागिता जनाउन नपाइरहेको अवस्थामा आफ्नै जिल्ला त्यसमाथि आप्mनै घर नजिक प्रतियोगिता हुन लागेकोले आफ्नो खेल कौशलता प्रदर्शन गर्न पाउँदा निकै उत्साहित भएको छु, खेलाडी विवेकले भने ।

राष्ट्रिय च्याम्पियन बिकास श्रेष्ठको नेतृत्वामा राष्ट्रिय च्याम्पियन बिवेक श्रेष्ठ, नविन श्रेष्ठ राष्ट्रिय खेलाडीहरुसहित उर्जाशील युवाहरु सम्मिलित निर्वाचित जिल्ला संघले पहिलो पटक जिल्लामा यति ठूलो प्रतियोगिता आयोजना गर्न गइरहेको छ ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरुका साथै सरादेवी तामाङ्ग, बिकास श्रेष्ठ, नङ्गशल तामाङ्ग, विवेक श्रेष्ठ, रत्नजित तामाङ्ग, नविन श्रेष्ठ जस्तार राष्ट्रिय च्याम्पियनहरु उत्पादन गरेको भोजपुरमा ठुला प्रतियोगिताहरु नभईरहेको अवस्थामा यस ब्याडमिन्टन प्रतियोगिताहरुले खेलाडी उत्पादनमा निकैनै सहयोग पुग्ने भोजपुर जिल्ला ब्याडमिन्टन संघका अध्यक्ष पूर्व राष्ट्रिय च्याम्पियन बिकास श्रेष्ठले बताए ।

भोजुरमा खेलाडीहरु उत्पादन गर्ने उद्देश्यले हामीले पहिलो पटक जिल्ला भित्रका मात्रै यू–१३ को ब्वाइज र गल्र्सको प्रतियोगिता गर्न गइरहेका छौ । साना खेलाडीहरुलाई ब्याडमिन्टन खेल प्रति उत्साहित गर्दै भोजपुरमा खेलाडी उत्पादन गर्ने उद्धेश्यले यू–१३ को ब्वाइज र गल्र्सको प्रतियोगितालाई पनि समावेस गरेका छौं । यसले खेलाडी उत्पादनमा सहयोग पुग्नेमा म बिश्वस्त छु अध्यक्ष श्रेष्ठले भने ।

सदरमुकामस्थित भोजपुर बहुमुखी क्याम्पस प्राङ्गणमा रहेको भोजपुर जिल्ला ब्याडमिन्टनको कभर्डहलमा सञ्चालन हुने प्रतियोगितामा पुरुष तथा महिला एकल, पुरुष युगल, यू–१७ र यू–१३ ब्वाइज तथा गल्र्स, गरि ९० खेलाडीहरुले कुल ७ बिधामा प्रतिस्पर्धा गर्ने भएका छन् ।

पूर्व राष्ट्रि«य च्याम्पियन बिकास श्रेष्ठको नेतृवमा राष्ट्रिय च्याम्पियन र युवाहरु सम्मिलित जिल्ला संघले भोजपुरको मान सम्मानलाई उच्च बनाउने जुन उद्धेश्य लिएर अगाडी बढे त्यसलाई आफूपनि युवा र ब्याडमिन्टन खेलाडी भएका कारण युवाहरुको उत्साहलाई समर्थन गर्ने उद्धेशयले प्रतियोगितालाई प्रायोजन गर्ने निधो गरेको हुँ, मेयर कैलाश कुमार आलेले बताए ।

करीब १२ लाख अनुमानित बजेट रहेको प्रतियोगितामा पुरुष युगलका शीर्ष तीन स्थान प्राप्त गर्नेले क्रमशः ५० हजार, ३० हजार र १५ हजार, पुरुष एकलमा शीर्ष तीन स्थान प्राप्त गर्नेले २५ हजार, १५ हजार र ७ हजार ५ सय, महिला एकलका शीर्ष तीन स्थान प्राप्त गर्नेले २० हजार, १० हजार र ५ हजार तथा यू–१७ ब्वाइज तथा गल्र्स तर्फ शीर्ष तीन स्थान प्राप्त गर्नेले १५ हजार, ८ हजार र ४ हजार नगदसहित मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।

यू १३ का खेलाडीहरुलाई प्रोत्साहन स्वरुप शीर्ष तीनका खेलाडीहरुले नगद ५ हजार, ३ हजार र १५ सयसहित मेडल प्रमाण पत्र र ट्रफी प्राप्त गर्ने आयोजकले जनाएका छन् ।

प्रतियोगितालाई भोजपुर नगरपालिकाले ७ लाख सहयोग गरेको छ भने अन्य खर्च विभिन्न संघ संस्था, देश तथा बिदेशमा रहेका ब्याडमिन्टन खेल प्रेमीहरुको सहयोग रहने अध्यक्ष श्रेष्ठले जानकारी गराए ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV