१७ फाल्गुन २०७७, सोमबार

काठमाडौँ, १७ फागुन । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले कसैले माग्दैमा प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा नदिने प्रष्ट पार्नुभएको छ । चन्द्रागिरि नगरपालिका–१ दहचोकस्थित बाहुनडाँडामा गणेशमान सिंह स्मृति बहुप्राविधिक शिक्षालयको आज शिलान्यास गर्दै उहाँले कसैले परबाट राजीनामा दे भन्दा प्रधानमन्त्रीले राजीनामा दिने हो भनी प्रश्न गर्नुभयो ।

वर्तमान सरकारले नै मुलुकमा निर्वाचन गराउनेमा ढुक्क हुन आग्रह गर्दै उहाँले संसद्मा प्रधानमन्त्रीका विरुद्ध अविश्वासको प्रस्ताव पेश गर्न पनि चुनौती दिनुभयो । प्रधानमन्त्री ओलीले चालेको राजनीतिक कदमको संवैधानिक निरुपण हुँदा मुलुक अप्ठयारो अवस्थामा पुगेको जिकिर गर्दै उहाँले यद्यपि सरकारले सर्वोच्च अदालतको फैसलालाई स्वीकार गर्दै यही फागुन २३ गते प्रतिनिधिसभाको बैठक बोलाएको बताउनुभयो ।

“नसोचेको घटनामा मुलुक फसेको छ, यसबाट मुलुकले निकास पाउनुपर्छ, देश, जनता, लोकतन्त्र र संविधानले जित्नुपर्छ”, उहाँले भन्नुभयो । प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटमाथि सुनुवाई गर्दै सर्वोच्चले यही फागुन ११ गते १३ दिनभित्र संसद् बैठक बोलाउन सरकारका नाममा परमादेश दिएको थियो । मन्त्रिपरिषद् बैठकले यही फागुन २३ गते अपराह्न ४ बजे प्रतिनिधिसभा बैठक बोलाउन राष्टपतिसमक्ष सिफारिश गरेको छ ।

“सरकार गठन भएदेखि नै जनताको पक्षमा काम हुँदै आएको छ, तर आफ्नै पार्टीबाट असहयोग भएको छ”, मन्त्री श्रेष्ठले भन्नुभयो । मुलुक पुनःनिर्माण र नवनिर्माणको चरणमा तीव्र गतिमा अगाडि बढेको उल्लेख गर्दै उहाँले यही सरकारले नै रानीपोखरीलगायत संरचनाको निर्माण सम्पन्न गरेको र धरहरा तथा काष्ठमण्डपको छिट्टै निर्माण सम्पन्न गरिने बताउनुभयो । मन्त्री श्रेष्ठले भन्नुभयो, “आगामी वैशाख १२ गते मध्याह्न १२ बजे काष्ठमण्डपको उद्घाटन गरिन्छ ।”

प्रतिक्रिया दिनुहोस्

LIVE TV