१५ फाल्गुन २०७७, शनिबार
  • वासुदेव भट्ट,

कञ्चनपुर, १५ फागुन । कञ्चनपुरको भीमदत्त नगरपालिकामा करार कर्मचारी भर्नामा अनियमितता भएको भन्ने चर्चा चलेपछि अख्तियारले कागजात मागेको छ ।

नगरपालिकामा अनमी, अहेब (सहायक चौथो) पदमा विज्ञापन नम्बर ३-०७७/०७८ मार्फत पाँच जना कर्मचारी माग गरिएको थियो । विज्ञापन आव्हान भएलगत्तै छनोट प्रक्रिया अगाडि बढाउनुपर्ने भएपनि पाँच महिना ढिलो गरी छनोट प्रक्रिया अघि बढाइएको देखिन्छ ।

२०७७ भदौ १२ मा विज्ञापन आव्हान गरिए पनि पाँच महिना ढिलो गरि परीक्षा गरिएको परिक्षार्थीको भनाइ छ । भने उता कोरोना महामारीलाई कारण देखाउदै नगरपालिकाले छनौट प्रक्रिया स्थगित गरेको थियोे ।

पाँच महिनापछि अर्थात् माघ २८ गते भएको लिखित परीक्षामा अनियमितता भएको भन्ने कुरा बाहिरिएपछि सामाजिक सञ्जाल तातिरहेको कै बेला अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरले चासो लिएको छ ।

यस्तै कर्मचारी भर्नामा अनियमितता गरेर आफू अनुकूल व्यक्ति छनोट गर्न लागेको भन्दै कर्मचारी छनोट समितिका संयोजक हरिदत्त जोशीले पदमा नबस्ने घोषणा गरेका थिए ।

नगरपालिकाले मापदण्ड नपुगेकालाई भर्ना गर्न खोजेको भन्दै तत्कालीन संयोजक जोशीले पद त्याग गरेपछि उक्त ठाउँमा नरेन्द्र राज जोशीलाई संयोजक तोकिएको थियो ।

आफू निकटका व्यक्तिलाई जागिर दिनका लागि नयाँ परीक्षा समिति बनाई सबै ‘सेटिङ’ गरेको नगरपालिका स्रोतले जानकारी दिएको छ । नाम नखुलाउने शर्तमा स्रोतले भन्यो, आफ्ना मान्छेहरुलाई जसरी पनि उक्त पदमा जागिर दिनका लागि नयाँ परीक्षा समिति बनाइएको हो ।

लिखित परीक्षाको नतिजा सार्वजनिक भएलगत्तै अन्तर्वार्ता हुनुअघि नै परीक्षा समितिले कसको नाम निस्किने भन्ने बाहिरि सकेको थियो । अन्तर्वार्ता हुनुअघि नै लिखित परीक्षामा नाम निस्किएका ११ जनामध्ये पाँच जनाको नामको अगाडि ‘टिक’ लगाइएको कागजात समेत बाहिरियो ।

उक्त कागजातमा मिति फागुन ३ गते उल्लेख छ । नगरपालिकाले फागुन ९ नतिजा प्रकाशन गरेको छ । अन्तर्वार्ताको नतिजा पनि ‘टिक’ लगाइएका पाँच जना मध्ये ४ जनाको नाम निस्किएको छ ।

उक्त टिक लागेको सूचना लिक भएपछि खुला तथा महिला दुबैतर्फ लिखितमा नाम निकाल्न सफल उमेद्वार इश्वरी जोशीलाई अन्तरवार्तामा फेल गरी उनको सट्टामा अरुलाई नै पास गरेको छ, भने बाँकी ४ जना पहिलानै टिक लगाएकालाई पास भए ।

अन्तरवार्तामा तुलसी जोशीलाई पास गराउनका लागि विज्ञका रुपमा महाकाली अस्पतालबाट उनकै फुपु नाता पर्ने जानकी जोशीलाई बोलाइएको थियो । भने परीक्षाको पेपर समेत महाकाली अस्पतालबाटै बनाउन लगाएको थियो ।

जब कि स्थानीय तहमा प्राय सम्बन्धित जिल्लाको स्वास्थ्य कार्यालयबाट प्रश्नपत्र बनाउने प्रावधान छ । परीक्षा सञ्चालन गर्दा प्रशासन, लोकसेवा आयोग लगायतबाट प्रतिनिधि बोलाउने नियमलाई समेत परीक्षा समितिले वेवास्ता गरेको देखिन्छ ।

खुला र महिला दुबैतर्फ लिखितमा नाम निकाल्न सफल उम्मेदवार जोशीलाई यसपछि पनि २ वटा अनमीको सिट खुल्ने भएकाले सो बेला अवश्य राखिदिने र अहिले मौन बसिदिन भनेर केही व्यक्ति उनकै घर गएर डिल गरेको समेत नगरपालिका श्रोत बताउँछ ।

अनमी पदको उत्तरपुस्तिका सम्बन्धित विषयको दक्ष वा विशेषज्ञले परीक्षण गर्नुपर्ने सेवा करार कर्मचारी भर्ना तथा छनोट कार्यविधिमा उल्लेख छ । तर, कञ्चनपुरको भीमदत्त नगरपालिकामा लिएको अनमी पदको उत्तरपुस्तिका भने विषय विज्ञले परीक्षण नगरी रोजगार संयोजकले परीक्षण गरेको परीक्षा समितिका संयोजक नरेन्द्रराज जोशीले स्वीकार गरेका छन् ।

परीक्षार्थीले परीक्षा हलमा कुनै प्रश्न ‘टिक’ लगाउन छोडेमा सोही बेला केन्द्राध्यक्षले रातो मसिले गालो लगाइदिने कानूनी व्यवस्था भएपनि सो समेत नगरिएको भेटिएको छ । आफू नयाँ भएका कारण आफूलाई यसबारे थाहा नभएको र रातो मसिले गोलो लगाउन छुटेको केन्द्राध्यक्ष गणेश ठगुन्नाको भनाइ छ ।

उनले भने, ‘म नयाँ भएको र टिक लगाउन छुटेका प्रश्नहरुमा रातो मसिले गोलो लगाउने कुरा हेरिएन ।’ फागुन ८ गते लिइएको अन्तर्वार्ताको नतिजा फागुन ९ गते प्रकाशित गरिएको थियोे ।

अनमी पदमा नियुक्त भएका व्यक्तिहरुका नाम अन्तर्वार्ता हुनु अगावै विभिन्न माध्यममा सार्वजनिक भएपछि अब के गर्ने ? भन्नेमा परीक्षा समिति अन्योलमा परेको थियो । तर, अन्ततः उनै टिक लगाइएका व्यक्तिहरुकै नाम नतिजा प्रकाशित गरिएको सहभागीहरुको गुनासो छ यहाँ राम्रा लाई भन्दा हाम्रा लाई गरियो ।

समाजिक सञ्जालमा उठिरहेका विषय यस्ता छन् :

– अनमी पदको उत्तरपुस्तिका दक्ष तथा विशेषज्ञलाई परिक्षण गर्न दिनुको सट्टा किन रोजगार संयोजकलाई दिइयो । किनकी उनकै बहिनी नाता पर्नेलाई पास गराउनु पर्ने थियो ।
– किन लोकसेवा तथा जिल्ला प्रशासनबाट छनौटका लागि प्रतिनिधि बोलाइएन ?
– भिमदत्त नगरपालिकाको कर्मचारी भर्नाको विषयमा उठेको विवादमा अख्तियारले निश्पक्ष छानबिन गर्ला कि नगर्ला ?
– हरिदत्त जोशीले परिक्षा छनौट समितिको संयोजक पदको जिम्मेवारीबाट किन छाडे ।
– किन परीक्षा भवनमै उत्तरपुस्तिका सिल गर्नु पूर्व परिक्षार्थीले टिक लगाउन छोडेका प्रश्नमा रातो मसिले गोलो लगाउन छोडे केन्द्राध्यक्षले ।
– अन्तरवार्ता हुनु अगावै क–कसलाई अन्तरवार्तामा पास गराउने भनेर किन नामको अगाडि टिक लगाइयो !

भिमदत्त नगरपालिकाका नगरप्रवक्ता हिमाल चन्दद्वारा पत्रकारको घर भत्काउने धम्की

कञ्चनपुरको भिमदत्त नगरपालिकाका नगरप्रवक्ता हिमाल चन्दले पत्रकार ज्ञानेन्द्र महताको घर भत्काउने धम्की दिएका छन् ।

कर्मचारी भर्ना अनियमितता बिषयको समाचार सम्प्रेषण गरेको भन्दै भीम दत्त नगरपालिकाका प्रवक्ता हिमाल चन्दले एक होटलमा दिएको अभिव्यक्ति अनुसार पत्रकार महताले समाजिक सञ्जाल फेसबुकमार्फत् उक्त कुरा सार्वजनिक गरेका हुन् ।

पत्रकार महता रेडियो राष्ट्रिय महेन्द्रनगर का प्रबन्ध निर्देशक हुन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV