१५ फाल्गुन २०७७, शनिबार

काठमाडौं, १५ फागुन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले मुलुकमा भ्रष्टाचारको ग्राफ बढ्दो रहेको बताउँदै भ्रष्टाचार गर्ने जो कोहीलाई नछाड्ने बताएका छन् ।

शनिबार बिहान टंगालस्थित आयोगको मुख्यालयमा आयोजित एक कार्यक्रममा भ्रष्टचार गर्ने जो-कोहीलाई तथ्य प्रमाणको आधारमा कारबाही गरेरै छाड्ने बताएका हुन्।

आग्रह तथा पूर्वाग्रहको आधारमा आफू नचल्ने पनि उनले बताएका छन्। मुलुकमा भ्रष्टाचारको ग्राफ बढ्दो रहेकोप्रति चिन्ता व्यक्त गर्दै आम नागरिकले अनुभव गर्न सक्ने गरी काम गर्नु आफ्नो चुनौती रहेको उनले औँल्याए।

साथै, आफ्नो कार्यकालमा संविधान, भ्रष्टाचार निवारण ऐन तथा अख्तियारको कार्यक्षेत्रभित्र रहेर पारदर्शी ढङ्गले भ्रष्टाचार नियन्त्रणमा लाग्नेसमेत प्रमुख आयुक्त राईले बताएका छन्।

भ्रष्टाचारको विषयमा सबैको चिन्ताअनुरुप आफूले महसुस गर्ने गरी नियन्त्रण तथा कारबाहीको काम गर्ने उनले बताएका छन् । प्रमुख आयुक्तमा नियुक्त राईसँग भेट गर्न तथा बधाइ दिन काठमाडौं महानगरपालिका–२९ का वडाध्यक्ष कुश ढकाल, घट्टेकुलो विकास समाजका अध्यक्ष शिवराम राजवंशी, सामाजिक विकास समाजका कार्यवाहक अध्यक्ष ओमप्रसाद उप्रेतीलगायत पुगेका थिए।

प्रतिक्रिया दिनुहोस्

LIVE TV