१५ फाल्गुन २०७७, शनिबार

काठमाडौँ, १५ फागुन । कोरोनाका कारण धार्मिकस्थलहरु प्रभाावित भइरहेका छन् । देशकै ठूलो धार्मिकस्थल पशुपतिनाथमा समेत यसको असर परेको भए पनि साँखुको शाली नदी मेलालाई भने खासै असर नपरेको श्री माधवनारायण स्वस्थानी व्रत तथा शालीनदी सुधार समितिले जनाएको छ ।

पौष शुक्ल पूर्णिमादेखि सुरु भएको श्री स्वस्थानी व्रत आज सकिएको छ । एक महिनाको अवधिभर चल्ने व्रत र मेलाका लागि विभिन्न स्थानबाट दर्शानार्थीहरु शाली नदीमा आउने गर्छन् । कोरोनाका कारण केही हदसम्म भक्तजनकाे चहलपहल घटेजस्तो देखिए पनि समग्रमा अन्य वर्षहरुकाे जस्तै उत्साहपूर्ण सहभागिता देखिएको समितिले जनाएको छ ।

समितिका वरिष्ठ उपाध्यक्ष जीवनमान सिंका अनुसार यस वर्ष करिब २० लाख दर्शनार्थीहरु शाली नदी मेला आए । अघिल्लो वर्ष भन्दा केही हदसम्म मात्र भेटी संकलन तल-माथि भएको भए पनि कमी नै आएको भन्न नमिल्ने उहाँले बताउनुभयो ।

अघिल्ला वर्षहरुमा मेलामा पाकेटमारी घटनाहरु बढेको भए पनि यस वर्ष समितिले मन्दिर र आसपासका क्षेत्रमा राखेको सीसी टिभीका कारण छिटपुट बाहेक लुटपाटको घटना नभएको समितिको दाबी  छ ।

व्रत समापनमा बढ्ने भीडलाई मध्यनजर गर्दै समितिले स्वयंमसेवक, स्काउट र प्रहरीको समेत सहायता लिएको थियो ।

हेल्थ प्रटोकल 

माधवनारायाण व्रत (शाली नदी)मा सामेह हुनका लागि यस वर्ष व्रतालुको संख्या घटाइएको छ । अन्य वर्षमा ३ सय जनासम्म व्रतालुहरू बस्ने गरेको भए पनि यस वर्ष ५२ जनालाई मात्र राखिएको समितिले जनाएको छ ।

व्रतको लागि शाली नदीमा आउनुपूर्व नै व्रतालु तथा समितिका पदाधिकारीहरुको कोरोना परीक्षण गरिएको थियाे । लाखौँ दर्शानार्थीहरुले एउटै पोखरीमा स्नान गरेको भए पनि पवित्र शक्तिकै कारण हालसम्म संक्रमण भने नफैलिएको सिंले बताउनुभयो । उहाँले भन्नुभयो, ‘दैवी शक्तिका कारण हो या मानिसकै शक्तिको कारण हो, हालसम्म संकमण भने फैलिएको छैन ।’

 ६० लाख आर्थिक संकलन

यसवर्ष मन्दिरमा करिब ६० लाख आर्थिक संकलन भएकाे छन् । जुन रकम व्यवस्थापन समितिले मन्दिर निर्माणमा खर्च गर्ने बताएको छ । समितिले नगरपालिका र प्रदेश सरकारले मिलेर भौतिक पूर्वाधारमा जोड दिने बताएको छ । भौतिक निर्माण गरी साखुको सांस्कृतिक पक्षको संरक्षणमा थप जोड दिने समितिले जनाएको छ ।

तस्वीर :  महेश्वर के.सी.

प्रतिक्रिया दिनुहोस्

LIVE TV