१५ फाल्गुन २०७७, शनिबार
  • लोकराज रूम्दाली/नवीन कुलुङ

काठमाडाैँ, १५ फागुन । सर्जन डा. शंकरमान राईलाई नचिन्ने मान्छे शायदै होलान् । जसले २० हजारभन्दा बढी बिरामीको सर्जरी गरिसकेका छन् । बिरामीकै सेवामा तल्लिन हुने उनी र डा. किरण नकर्मीको सम्बन्ध ‘सतिसाल’झैँ छ । एउटै कर्ममा होमिएका डा. किरण र डा. राईको भावना पनि एउटै छ- समाजमा अरूका लागि केही गर्न पाऊँ भन्ने ।

मंगलबार कीर्तिपुरस्थित कीर्तिपुर अस्पतालमा पुग्दा दुवै डा बिरामीको सेवामा व्यस्त थिए । करिब आधा घन्टाको पखाइपछि डा. राईसँग भेट भयो । उनले हामीलाई एउटा कोठामा लिएर गए । कोठाभित्र सेतो एप्रोन लगाएका चार जना युवतीहरू थिए । सबैसँग पालैपालै चिनजान गराए । उनीहरू फरक/फरक अस्पतालबाट आएका रहेछन् । करिब एक घन्टासम्म उनीहरूलाई डा. राईले सर्जरीबारे कम्प्युटरमार्फत् ‘कक्षा’ दिए ।

विभिन्न अस्पतालबाट आएका नर्सहरुलाई ‘बर्न’सम्बन्धी कक्षा दिँदै डा. शंकरमान राई

कक्षा सकिएपछि हामीसँग कुरा गर्दै डा. राईले भने, ‘अबको पालो युवाको हो । जोश, जाँगर र ऊर्जा भएका युवाले नै गर्नुपर्छ ।’ त्यसपछि उनी एकैछिनमा आउने वाचाका साथ बाहिरिए । आउँदा उनीसँगै आए, अर्का युवक । उनी थिए, अस्पतालका सर्जरी विभाग प्रमुख डा. किरण नकर्मी । जो डा. राईका शिष्य अर्थात् २० वर्षदेखि सँगै यात्रामा छन् ।

गुरु–चेलाको सम्बन्ध

डा. राईले सर्जरी विभाग प्रमुख डा. किरणसँग चिनजान गराएपछि भने, ‘तपाईंहरू कुराकानी गर्दै गर्नुस् । म केही समयपछि आउँछु है ।’ त्यसपछि उनी नआएसम्म डा. किरणसँग हामी गफिन थाल्यो ।

प्युठानको खलंगामा जन्मिएका हुन्, डा. किरण नकर्मी । सानै उमेरमा डाक्टर बन्न चाहेका उनी संयुक्त परिवारमा हुर्किए । सरकारी जागिरे बुवाको पनि इच्छा किरणलाई डाक्टर बनाउने नै थियो । दाजुभाइमध्ये कान्छो रहेछन् उनी । गाउँकै स्कुलबाट २०४३ सालमा एसएलसी उत्तीर्ण गरेर आइएस्सी पढ्नका लागि काठमाडौँ आए । त्यतिबेला उनी १७ वर्षका थिए ।

डा. शंकरमान राईका साथमा डा. किरण नकर्मी

२०४६ सालमा आइएस्सी उत्तीर्ण गरेपछि थप अध्ययनका लागि महारजगन्जस्थित त्रिवि शिक्षण अस्पताल (मेडिकल कलेज)मा भर्ना भए । तर, आन्दोलन चर्किरहेको थियो । आन्दोलनले पढाइ तीन महिना पर धकेलियो ।

सन् १९९५ एमबीबीएस अध्ययन पूरा गरे । एमबीबीएस अध्ययनकै क्रममा उनले गुरुका रुपमा चिनेका हुन्, डा. शंकरमान राईलाई । त्यसपछि अहिलेसम्म गुरु–चेला सँगै अनवरत सेवा–कर्ममा होमिएका छन् ।

देश–विदेशको अनुभव

एमबीबीएस उत्तीर्ण गरेपछि दुई महिना त्रिवि शिक्षण अस्पताल महाराजगन्जमै डा किरणले मेडिकल अफिसरको रुपमा काम गरे । त्यसपछि मेडिकल अफिसरकै रुपमा तिलगंगा अस्पतालमा तीन महिना काम गरे । यहीँ अवधिमा तीन वर्षे कोर्स मास्टर अफ जनरल सर्जरीमा नाम निकाले र उनी पुनः टिचिङमै फर्किए । सन् २००० मा जनरल सर्जन बने । जनरल सर्जरी अध्ययनका क्रममा तीन महिना प्लास्टिक सर्जरीमा उनले बिताइसकेका थिए । मास्टर अफ जनरल सर्जरीपछि के पढ्ने भन्ने द्विविधा भइरहेका बेला आफ्ना गुरु डा. राईकै सल्लाहले उनी सर्जन बनेको बताउँछन् ।

त्यतिबेला डा. राई विभिन्न दुर्गम जिल्लामा पुगेर सर्जरी गर्ने गर्थे । प्रायः उपत्यबाहिर नै फिल्डमा हिँड्नुपर्ने र टिचिङ अस्पतालमा बिदा नमिल्ने भएकाले टिचिङ छाडेर डा. राई काठमाडौं मोडल अस्पतालमा गए । त्यसपछि किरण पनि डा. राईसँगै आए । त्यस नै उनीहरुको सहकार्य गाढा हुन थाल्यो । डा. राईसँगै सर्जरीका लागि डा किरण पनि दुर्गम जिल्ला पुगे । उनी भन्छन्, ‘ताप्लेजुङ, तेह्रथुम पुगेर ओठतालु फाटेका बिरामीको अप्रेसन फ्रिमा गरिदिन्थँे । विकट गाउँमा गएर डेढ वर्ष बिताइयो ।’

विकट गाउँमै सर्जरीका लागि डुल्दाडुल्दै डा. राईले किरणलाई हातसम्बन्धी सर्जरी पढ्न सल्लाह दिए । किनकि त्यतिबेला नेपालमा ‘ह्यान्ड सर्जन’ थिएनन् । सल्लाहबमोजिम नै उनले अमेरिकामा ह्यान्ड सर्जरी एन्ड माइक्रो सर्जरी पढ्नलाई सन् २००२ मा लाइसेन्स (अनुमति पत्र) का परीक्षा दिए र उत्तीर्ण पनि भए ।
सन् २००३ मा एक वर्ष अमेरिकामा बसेर फर्किएका डा किरणले नेपालमा एक वर्ष काम गरे ।

त्यसपछि फेरि प्लास्टिक सर्जरी अध्ययनका लागि डा. राईकै सल्लाहमा एक वर्षका लागि अष्ट्रेलिया गए, सन् २००४ मा । सन् २००५ मा नेपाल फर्किएपछि डा. राईसँगै काठमाडौं मोडल अस्पतालमा ८ वर्ष काम गरे । यस बीचमा डा. राईसँग विकट गाउँमा पुगे । वर्षमा १ हजार २ सय ओठ-तालु फाटेका बिरामीको उपचार गरेको रेकर्ड उनी सुनाउँछन् । उनी भन्छन्, ‘पोलेर बिरामी भएका ६ सय जनासम्मको उपचार गरिएको छ । त्यतिबेला हरेक वर्ष निःशुल्क रुपमै गाउँमा पुगेर हामीले सेवा दियौँ ।’

सन् २०१३ मा दुवैजना सँगै कीर्तिपुर अस्पतालमा आए । यसअघि २०१२ मा डा. राईकै नेतृत्वमा तीन वर्षे प्लास्टिक सर्जरीको तालिम सञ्चालन गरिएको थियो । त्यसमा पनि उनी सहभागी भए । त्यसपछि कीर्तिपुरमा आएपछि अहिलेसम्म दुवैजना सँगै कार्यरत छन् ।

नेपालकै ठूलो सर्जरी टिम

कीर्तिपुर अस्पतालको सर्जरी विभागमा हाल ८ जना प्लास्टिक सर्जन, ३ जना बंगारा तथा दाँतसम्बन्धी सर्जन र उनीबाहेक २ जना ह्यान्ड सर्जन रहेका छन् । प्लास्टिक सर्जरीको यति ठूलो टिम नेपालको अन्य नीजि तथा सरकारी अस्पतालमा छैन । उनका अनुसार विभागले तीन युनिट छुुट्याएको छ । जसमध्ये ह्यान्ड एन्ड माइक्रो सर्जरी, ओठ, तालु र बंगारा फाँटेको सम्बन्धी सर्जरी र आगोले जलेको र प्लास्टिक सर्जरी रहेका छन् ।

बाहिरी देशको तुलनामा नेपालमा सर्जन चिकित्सा धेरै पछाडि परेको देख्छन् डा किरण । उनी भन्छन्, ‘साँच्ची भन्ने हो भने बिरामीले प्राथमिक तथा आधारभूत सेवाहरू पनि पूरा गर्न असमर्थ रहेका छन् । अहिले बिरामीहरू मुगुदेखि काठमाडौँ आइपुग्नुपर्ने बाध्यता छ ।’

डा. शंकरमान राई

अर्काेतिर, सर्जन डाक्टरको रुपमा ढुक्क भएर उपचार गर्न नसक्ने उनी बताउछन् । किनकि मुगुदेखि आएको बिरामीले के खाला, कसरी उपचार खर्च जुटाउँला भन्ने पीर छ डा. किरणलाई । उनी भन्छन्, ‘चाहेको जसरी उपचार गर्न नपाउनु नै डाक्टरलाई ठूलो पीडा रहेछ । बाहिरी देशका बिरामीले उपचार खर्च कसरी जुटाउँछ भन्नेमा पीर मान्नुपर्ने अवस्था छैन । त्यहाँको सरकारले स्वास्थ्य क्षेत्रम एकदम मजबुत नीति बनाएको छ । तर, यहाँ त्यस्तो नहुँदा पीडा छ । न आफूले चाहेर पनि सहयोग दिन नै सकिन्छ ।’

हालसम्म १० हजारभन्दा बढी बिरामीको सर्जरी गरेका डा. किरणका अनुसार स्वास्थ्य मन्त्रालयलसँग मिलेर सर्जरीसम्बन्धी थुप्रै तालिम पनि सञ्चालन भएका छन् । त्यसले केही हदसम्म जनचेतना फैलाए पनि दीर्घकालीन रुपमा जनचेतना फैलाउने काम सरकारबाटै हुनुपर्ने उनी बताउछन् । उनका अनुसार विभिन्न अस्पतालका नर्सहरूलाई पनि बोलाएर यससम्बन्धी तालिम दिइरहेको अवस्था छ । त्यसो त, राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रमार्फत् यससम्बन्धी पाठ्यसामग्री नै निर्माण गरिएको छ ।

आगोले जलेमा के गर्ने ?

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का अनुसार नेपालमा वार्षिक २ हजार १ सय बिरामी आगोबाट मात्र जलेर बिरामी हुने गरेका छन् । तथ्यांक हेर्दा मुटु नै कामे पनि यसतर्फ समाधान कम भएको देखिँदैन । सञ्चारको माध्यम जहाँतहीँ पुगेको दुर्गम गाउँमा समेत कसैलाई आगोजन्य जलन केही भइहालेको अवस्थामा टोल फ्री नम्बर १६६००१५१००० मा तत्काल फोन सम्पर्क गर्न उनको अनुरोध छ ।

फोनबाटै प्राथमिक उपचारसम्बन्धी प्रक्रियाहरू बताइने उनी बताउछन् । यसो गर्दा बिरामीले प्राथमिक उपचार पाउने र पछिको उपचार सहज हुने डा किरण सुनाउछन् । प्राथमिक उपचारअन्तर्गत घाउमा पानीको मात्रा कमी हुन दिइँदैन । जबकि पोलेको ठाउँमा पानी नै अनिवार्य हुन्छ ।

तर, उपत्यकाबाहिरका कतिपय जलेका मान्छेहरू जीउमा सलाइन पानीको अभाव देखिएको र आकस्मिक उपचारका लागि काठमाडौं ल्याउँदा अस्पतालमा पिसाब बन्द भएर मृत्यु भएको थुप्रै उदाहरणहरू रहेको उनी सुनाउछन् । उनी भन्छन्, ‘आकस्मिक उपचारमा आउनुभएका बिरामीहरू पानीकै अभावले ज्यान गुमाउनुपरेको छ । २०१४ देखि अहिलेसम्म काठमाडौंमा उपचारमा आएका त्यस्ता बिरामीमध्ये २० प्रतिशतको निधन भएकै छ ।’

नेपाल ‘बर्न’ फाउन्डेसन

डाक्टर, नर्सबाहेक सबै क्षेत्रका मानिसहरू आबद्ध भई स्थापना भएको संस्था हो, बर्न फाउन्डेसन । आगो¬, पानी (तरल पदार्थ) वा विद्युतका कारण जलेकाहरूका लागि सहयोग र विशुद्ध जनचेतना फैलाउनका लागि खोलिएको संस्थामा जोकोही आबद्ध हुन सकिने उनी बताउछन् । ‘आपत्–विपद जोकोहीलाई पनि आइपर्छ । यसै उद्देश्यका साथ संस्थाको स्थापना गरिएको हो । संस्थाले कोष खडा गर्ने सोच पनि बनाएको छ । अब ढिलोचाँडो कोष बन्नेछ ।’

कीर्तिपुरमा रहेको फाउन्डेसनका महासचिव डा. किरणका अनुसार कोषमा देशभरका नेपालीहरूलाई आबद्ध गर्ने लक्ष्य रहेको छ । उनका अनुसार हाल अस्पतालमा ७० प्रतिशतभन्दा बढी आगोले पोलेका, १५ प्रतिशत तातो जल (तेल, दाल, कुँडो) ले पोलेका र १४ प्रतिशत करेन्ट लागेका र बन्द कोठामा तातो हावा स्वास नलीमा गएर बिरामी भएका बिरामीहरू १ प्रतिशत आउने गरेका छन् ।

त्यसो त अस्पतालमा उपचार गर्न आएका २० प्रतिशतको अस्पतालमै निधन भएको र जलेपछि प्राथमिक उपचारविनै काठमाडौं आएर पुनः फर्किनेको संख्या १३ प्रतिशत रहेको उनी बताउछन् ।

गरीब नै बढी रोगको सिकार

डा. किरणका अनुसार तथ्यांक हेर्दा गरीब नै यो जलन रोगबाट सिकार भएका छन् । एउटा सानो घरमा दश जनाभन्दा बढीको भान्छा र सुत्ने कोठा एउटै हुनु, छोरोछोरीको हेरचाह गर्न नसक्नु जस्ता कारणले यो समस्या निम्तिएको उनको ठम्याइ छ ।

रोग पनि गरीबलाई, उपचार महंगो पनि गरिबलाई नै हुनाले यसलाई सन्तुलनमा ल्याउन बडो कठिन भइरहेको उनी बताउँछन् । त्यस्तै, जलेर अस्पतालमा आएकाहरूमध्ये ५० प्रतिशत बिरामी आर्थिक समस्यामा परेका छन् । यसतर्फ डाक्टरले चाहेर पनि पीडा हेर्नबाहेक अरु केही गर्न नसकेको उनी सुनाउछन् ।

उनी भन्छन्, ‘आगो वा विभिन्न कारणले जलेका बिरामीको तत्काल उपचारका लागि बाहिर लगे पनि धेरै गाह्रो छ । किनकि आगोले जलेपछि ३÷४ दिन एकदमै गाह्रो हुन्छ । पानी राम्रो दिएर पिसाब पठाउन सक्नुपर्छ । अर्काे ३/४ दिनपछि घाउहरूमा इन्फेक्सन सुरु हुन्छ । यस्तो अवस्थामा बिरामीलाई बाहिर उपचारमा पठाउन असम्भव हुन्छ । यसकारण ‘बर्न’का बिरामीलाई बाहिर र नेपालमा गाह्रो छ ।’

बिरामी कीर्तिपुरमै किन ?

नेपालको सन्दर्भमा यहाँका अस्पतालहरूमा जलेका ‘बर्न’ का बिरामीहरूलाई उपचारका लागि भनेर छुट्टै शैय्याको व्यवस्था नभएको डा किरण बताउछन् । हाल कीर्तिपुर अस्पतालमा जनरल र आइसियु शैय्या गरी ३८ वटा रहेका छन् । यसरी बर्नकै लागि भनेर सेवा दिने सरकारी तथा निजी अस्पताल नभएपछि बिरामीहरू अन्ततः कीर्तिपुर अस्पतालमै आइपुग्ने गरेका छन् । अस्पतालसँग गत जनवरी महिनामा मात्र १ सय ८ जना बर्नका बिरामीहरू भर्ना भएको रेकर्ड छ ।

एकचोटि त अस्पतालमा एकैपटक ६५ जना बिरामी पनि भर्ना गरिको डा. किरण सुनाउछन् । क्षमताभन्दा बढी बिरामी भर्ना गरेर पनि बिरामीको उपचार गरिएको उनी सम्झिन्छन् । अस्पतालको २०२० को डाटाअनुसार वार्षिक ५ सय १३ जनाभन्दा बढी बिरामी अस्पतालमा आउने गरेका छन् ।

रोकथाम र बचाउ

डब्लुएचओका अनुसार बर्नका ८० प्रतिशत बिरामी बचाउन सकिन्छ । डा. किरणका अनुसार यसका लागि सरकारले रोकथाम र बचाउका लागि मिडियामार्फत जनचेतना फैलाउनुपर्छ । एकपटक स्वास्थ्य मन्त्रालयलाई यसबारेमा दिइएको एउटा सामग्री मिडियामार्फत् सम्प्रेषण पनि गरिएको थियो । तापनि त्यसपछि स्थगितझैँ रहेको उनी बताउँछन् । उनका अनुसार सरकारले स्थानीय तह र प्रदेशमा समेत यससम्बन्धी जनचेतना फैलाउनु जरुरी छ ।

त्यस्तै, यसतर्फको विकल्पका रुपमा सुरक्षित चुल्हो र इलेक्ट्रोनिक ब्ल्यांकेट वितरण रहेको उनी बताउछन । साथै, जलेका बिरामीको प्राथमिक उपचारतर्फ २४ घण्टासम्म राजधानी नल्याएर त्यही प्रचुर मात्रामा सलाईन पानी दिएर उपचार गर्नुपर्ने उनको सुझाव छ ।

अर्कातिर, आर्थिक अभावका कारण उपचारमा काठमाडौं आएका बिरामीहरूको स्वास्थ्यपोचर कसरी गर्ने भन्ने जटिल समस्या छ । यसतर्फ सरकारले बीमामार्फत् वा अन्य तरिकाले सोचिदिए राम्रो हुने उनको बुझाइ छ ।

छाला बैंक

शरीरमा एक तिहाइभन्दा बढी छाला पोलिएको अवस्थामा बिरामीकै शरीरबाट छाला निकालेर प्रत्यारोपण गरिन्छ । तर, त्योभन्दा बढी छाला चाहिएको अवस्थामा विकल्प के त ? यहीँ समस्या समाधानका लागि सन् २०१४ मा छाला बैंक स्थापना गरिएको हो । हालसम्म २७ जनाले छाला दान गरेको डा. किरण बताउछन् ।

त्यसो त छाला दान प्रक्रिया महंगो रहेको छ । १० देखि १५ हजार खर्च हुने उनी सुनाउछन् । साथै, अहिलेसम्म छाला दान भएपछि बिरामीलाई उपचार गरिएबापत कुनै खर्च नलिइएको पनि उनी सुनाउछन् । बैैंकमा लायन्स क्लबको आबद्धता भए पनि सोचेअनुरुप अघि बढ्न नसकेको उनी बताउछन् । बैंकमा इच्छुकले मरणोपरन्त छाला दान गर्न सक्नेछन् । त्यसका लागि अगाडि नै सम्झौता गरिनुपर्छ ।

छाला दानसँगै ‘ड्रेसिङ’ पनि महंगो रहेको उनी बताउछन् । यसैगरी अर्थाेपेडिक सर्जरीमा युवाहरूको बाहुल्यता देखि पनि बर्न सर्जरीमा युवा पुस्ताको सहभागिता एकदमै कम रहेकोमा डा किरण चिन्ता व्यक्त गर्छन् । उनका अनुसार सर्जन बन्नलाई दुई वर्ष तालिम अनिवार्य लिनुपर्छ ।

अबको लक्ष्य

डा किरण र उनको टिमले नेपालमै प्लास्टिक सर्जरीमा थप नयाँ आयामहरू दिन खोजिरहेका छन् । उनी भन्छन्, ‘सुरुमा अस्पतालमा दुई जना थियौँ । अहिले तीन युनिटमार्फत १२ जनाले सेवा दिइरहेका छौँ । अहिले ह्यान्ड कम्प्लेक्स सर्जरी (नस चुडिएर हात नचल्ने) पनि सुरु गरिसकेका छौँ । माइक्रो सर्जरी (शरीरको कुनै अंगमा मासु वा हड्डी नभएको अवस्थामा अर्काे ठाउँबाट ल्याएर रगतको नसा जोड्ने काम) पनि सुरु गरिसकेका छौँ । जेन्डर असाइनमेन्ट सर्जरी (लिंग परिवर्तन) सुरुवात गर्ने सोच अघि बढाइसकेका छौँ ।’
-0-

प्रतिक्रिया दिनुहोस्

LIVE TV