१४ फाल्गुन २०७७, शुक्रबार
  • हरिशंकर शर्मा,

वीरगन्ज (पर्सा), १४ फागुन । शहरी विकास मन्त्री प्रभु साहले नेकपा अध्यक्ष पुष्पकमल दाहाल र माधव कुमार नेपाल सांसद किनबेचको फोहरी खेलमा लागि परेको आरोप लगाएका छन् ।

पर्साको छिपहरमाई गाउँपालिका–२ टिहुकी, सेढवामा आयोजित गाउँपालिका स्तरीय अगुवा कार्यकर्ता भेला एवं पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री साहले सर्वोच्च अदालतले संसद विघटनको निर्णय खारेज गरेसँगै दाहाल–नेपाल कुर्सीका लागि सांसद किनबेच गर्ने खेलमा लागेका आरोप लगाएका हुन् ।

त्यस्तै, उनले दाहाल–नेपाल समूहले प्रधानमन्त्रीको कुर्सीका लागि जति प्रयास गरेपनि सफल हुन नसक्ने दाबी समेत गरेका छन् । जनताले नेकपालाई झण्डै दुई तिहाई बहुमत दिएर सरकार चलाउने अधिकार दिएपनि दाहाल–नेपाल समूहले प्रधानमन्त्रीलाई सरकार चलाउन अवरोध गर्दै पार्टी ध्वस्त पारेको समेत आरोप लगाए ।

नेकपा प्रदेश नं. २ का अध्यक्ष समेत रहेका मन्त्री साहले स्थिरता, सुशासन, समृद्धि र विकासको अभियान सफल पार्न प्रधानमन्त्री ओली नेतृत्वको नेकपामा गोलबन्द हुन सबैलाई आग्रह समेत गरे ।

नेकपा छिपहरमाई गाउँपालिका कमिटी अध्यक्ष प्रहलाद गुप्ताको सभापतित्वमा आयोजित कार्यक्रममा नेकपा पर्सा जिल्ला अध्यक्ष प्रभु हाजरा, संविधान सभा सदस्य राजकुमार गुप्ता, जयप्रकाश थारु, प्रद्युमन चौहान, जिल्ला समन्वय समिति पर्साका उप–प्रमुख ठाकुर प्रसाद न्यौपाने, पटेर्वा सुगौली गाउँपालिका अध्यक्ष हरिनारायण चौधरी, छिपहरमाई गाउँपालिका अध्यक्ष मनोज कुमार गुप्तालगायतको उपस्थिति रहेको थियो ।

सोही कार्यक्रमबीच विभिन्न पार्टी परित्याग गरी वडाध्यक्षसहित सयौं कार्यकर्ताहरुले पार्टी प्रवेश गरेका छन् । तत्कालीन संघीय समाजवादी फोरमबाट निर्वाचित छिपहरमाई गाउँपालिका–२ का वडाध्यक्ष महेन्द्र साह कलवार, सोही पार्टीका–३ का तत्कालीन वडाध्यक्षका प्रत्यासी अनिल साह लगायत सयौं कार्यकर्ताहरुले नेकपा ओली समूहमा पार्टी प्रवेश गरेका हुन् ।

सो कार्यक्रम पश्चात छिपहरमाई गाउँपालिकाको जयमंगलापुरमा निर्माण भएको बर्थिङ्ग सेन्टर भवनको समेत मन्त्री साहले उद्घाटन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV