१४ फाल्गुन २०७७, शुक्रबार
  • हरिशंकर शर्मा,

वीरगन्ज (पर्सा), १४ फागुन । आफ्नो विलासी जीवन छोडेर कुचो बोकेर सडक सफा गर्दै हिँड्ने व्यक्ति हुन् राजमान मानव । सुन्दा अपत्यारिलो लाग्छ, तर सत्य यही हो । उनी विगत १० वर्षदेखि विश्वलाई नै स्वच्छ र सफा पार्ने अठोटका साथै आफू लगायत आफ्नो टिम २४ औं घण्टा सडक सफा गर्नमा व्यस्त रहन्छन् ।

भनिन्छ मान्छेहरुको इच्छा पनि अचम्मको हुन्छ, कसैले जीवनको अन्तिमसम्म विलासी जीउन विताउँदै संसार छाड्न चाहन्छन् भने कसैले ऐस, आरामको जीवन जिउँदै हास्दै यो संसार छोड्ने रहर हुन्छ ।

तर, यी व्यक्तिको अन्तिम इच्छा सुन्दा अचम्म नै लाग्छ । उनको अन्तिम इच्छा हो, कुचिकारको कपडा, साथमा कुचो लिएको अवस्थामा नै संसार छाड्ने । सायद यही उनको अन्तिम इच्छाको कारण उनी २४ औं घण्टा आफ्नो साथमा कुचो बोकेर हिँड्छन्, खान्छन्, सुत्छन् ।

उनीसँग लगाउनका लागि कपडा नभएका पनि होइनन्, आफ्नो पूख्र्यौली सम्पत्तिदेखि आफूले अर्जेको सम्पत्तिलाई छाडेर उनी ‘हामी नगरे कसले गर्ने’ ‘आई’ भनेर अँकित गरिएको र कुचिकारले सरसफाई गरि रहेको लोगो सहितको टि–सर्ट लगाएर हिँड्ने गरेका छन् ।

उनी नेपाललाई मात्रै होइन, विश्वलाई नै सफा गर्ने अठोटका साथ अघि बढेको छन् । उनले नेपाललाई वि.सं. २०८० सम्ममा फोहरमुक्त बनाउने लक्ष्य लिएका छन् भने सन् २०२८ सम्म विश्वलाई पनि फोहरमुक्त बनाउने उनको योजना छ ।

उनी नेपालको ७६ जिल्लामध्ये ६० वटा जिल्लामा सरसफाई गरिसकेका छन् भने नेपाल बाहिरको देशहरु बंगलादेशव, श्रीलंका तथा भारतका विभिन्न सहरहरुमा पनि सरफाई गरिसकेका छन् । नेपाल लगायत कुनैपनि देशमा बढी फोहर भएको थाहा पाउने वित्तिकै त्यहाँ आफ्नो टिम लिएर पुग्ने गरेका छन् मानव ।

उनी अहिले सरसफाईको क्रममा नेपालकै आर्थिक नगरीको रुपमा चिनिने वीरगन्ज महानगरपालिकामा आइपुगेका छन् । वीरगन्जमा सरसफाई गर्न आउनु उनको पहिलो पटक होइन, यो भन्दा अघि पनि वीरगन्जमा सरसफाई गरेर गइसकेका छन् भने यो पाँचौ पटक पुनः सरसफाई गर्न वीरगन्जमा आइपुगेका हुन् ।

उनी सरसफाई गर्नका लागि पुग्ने ठाउँ जबसम्म सफा हुँदैन, तबसम्म आएर सफा गरिरहन्छन् । उनको लक्ष्य सबै ठाउँमा आफै गएर सफा गर्ने पनि होइन, आफू एक्लै अर्थात आफ्नो टिमले कति ठाउँमा सफा गर्न सक्छ र ? सक्ने ठाउँमा गएर सफा गर्छन नै, त्यो भन्दा पनि त्यहाँका स्थानीय नागरिकहरुलाई अबको दिनदेखि जथाभावी फोहर नगर्न आग्रह गर्दै आफ्नो ठाउँलाई आफैले सफा गर्नुपर्छ भनेर जनचेतना पनि फैलाउने गरेका छन् ।

यसले गर्दा पनि स्वच्छ, सफा सहर बनाउनमा मद्दत पुग्ने उनको भनाइ छ । यसो हेर्दा सामाजिक कार्य जस्तो देखिएपनि यहाँ रहेका दर्जनौं सामाजिक सँस्था एनजीओ, आईएनजीओहरुभन्दा मानवको कार्य फरक तरिकाको रहेको छ ।

सामाजिक कार्य गर्नका लागि यहाँ एनजीओ र आईएनजीओहरुको कमी छैन तर उनीहरुले नसकेकै कारण मानवलाई एक्लै ओर्लेर सरसफाई अभियानलाई तीब्रता दिनुपरेको हो । अलिकति काम गर्ने र प्रचारवाजी कमाउने एनजीओ, आईएनजीओहरुलाई विना प्रचारवाजी विहानदेखि बेलुकासम्म सडक सफा गर्दै हिँड्ने मानन्धरको कार्यले चुनौती दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV