१४ फाल्गुन २०७७, शुक्रबार
  • तारा आचार्य,

विराटनगर, १४ फागुन । मोरङको जहदा गाउँपालिका–१ मा ११ वर्षीया बालिकामाथि भएको बलात्कार प्रयासको घटना लुकाउन मिलापत्र गर्न खोजिएको खुलासा भएको छ ।

एक साता अगाडि गाँउका अगुवा र छिमेकीले पीडित पक्षलाई मिलापत्र गर्न दबाब दिदै घटना लुकाउन खोजेको रहस्य बाहिरिएको हो । पीडित पक्षलाई आर्थिक प्रलोभनमा पारेर गाउँमै घटना मिलाउने प्रयास गर्दै प्रहरीमा नजान दबाब दिएको एक सातापछि घटना बाहिरिएको मोरङ प्रहरीले जनाएको छ ।

बालिकामाथि बलात्कारको प्रयास भएको जानकारीसहित पीडित पक्षले विहीवार इलाका प्रहरी कार्यालय रानीमा किटानी जाहेरी दिएका छन् । घटनाका आरोपित ४५ बर्षीय राजेन्द्र सरवरीया घटना बाहिरिएपछि फरार छन् ।

उनले वालिकामाथि पटक–पटक बलात्कारको प्रयास गरेको जानकारीसहित प्रहरीमा किटानी जाहेरी परेको हो । फागुन ६ र ८ गते मकै बारीमा लगेर सरवरीयाले बालिकामाथि बलात्कारको प्रयास गरेको बालिकाले पहरीमा जानकारी गराएकी छिन् ।

सरवरीयाले कपडा खोल्न थालेपछि कराउदै भागेको बालिकाले बताएकी छिन् । यो कुरा बाहिर निकाल्न खोज्दा गाँउमा दबाब दिएर मिलाउन खोजेको कारण प्रहरीमा आइपुग्न ढिलो भएको अनुन्धानमा देखिएको प्रहरीको भनाइ छ । पैसा दिएर घटना मिलाउन खोजिएको प्रहरीले जनाएको छ ।

घटनालाई मिलाउने प्रयास गर्ने र मिल्न दबाब दिनेहरुलाई पनि कारवाहीको दायरामा ल्याउने प्रहरीले बताएको छ । मोरङ प्रहरीका डीएसपी मानबहादुर राईले घटनाको अनुसन्धान गरेर आरोपीको खोजी थालिएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV