१३ फाल्गुन २०७७, बिहीबार

काठमाडौं, १३ फागुन । नेकपा प्रचण्ड-माधव पक्षले अत्यावश्यक बाहेकका काममा उपत्यका नछोड्न आफ्ना सांसदहरुलाई निर्देशन दिएको छ ।

सिंहदरबारमा बुधबार बसेको सो पक्षको संसदीय दलको अनौपचारिक बैठकले पछिल्लो घटनाक्रममाथि समिक्षा गर्दै उपत्यका नछोड्न आफ्ना सांसदहरुलाई निर्देशन दिएको हो ।
बैठकमा अध्यक्षद्वय पुष्प कमल दाहाल प्रचण्ड र माधव कुमार नेपालले आफूहरू सरकार बनाउनको लागि भन्दा पनि व्यवस्थाको लागि लडेको बताउनुभएको थियो ।

अध्यक्षद्वयले सर्वोच्चको फैसलालाई स्वागत गरेको र अव संविधानको रक्षा गर्दै अघि बढ्नुपर्ने समेत बताउनुभएको नेता देव गुरुङले जानकारी दिनुभयो । त्यस्तै संसदलाई व्यवस्थित रुपमा अघि बढाउनका लागि आवश्यक सहकार्य गर्नुपर्नेमा बैठकले जोड दिएको उहाँले बताउनुभयो । नेता गुरुङले प्रधानमन्त्री केपी शर्मा ओलीसँग आफैंले विघटन गरेको संसदमा गएर विश्वासको मत माग्ने नैतिकता नभएकोसमेत जिकिर गर्नुभयो ।

यदि अविश्वासको प्रस्ताव सामना गर्ने हो भने आफुहरु पनि तयार रहेको उहाँले बताउनुभयो । सरकारले दल विभाजन या अन्य कुनै अध्यादेश ल्याउन पनि सक्ने सन्दर्भमा उहाँले बाध्यकारी हिसाबले संसद बैठक बस्ने मिति नै तोकिएको अवस्थामा अध्यादेश आउन नसक्ने उल्लेख गर्नुभयो ।

सर्वोच्च अदालतले संसद पुनसर््थापना गर्ने फैसला मंगलबार गरेको थियो । त्यस्तै १३ दिनभित्र प्रतिनिधिसभाको बैठक राख्न पनि सर्वोच्चले आदेश दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV