१३ फाल्गुन २०७७, बिहीबार

काठमाडाैं, १३ फागुन  । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पार्टी नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र कुनै छलफल नै नगरी वैशाख ८ गते दल विभाजन र संवैधानिक परिषद् सम्बन्धी दुई अध्यादेश ल्याए । ती अध्यादेशपछि उनको चर्को विरोध भयो । चाैतर्फी विराेध भएपछि बाध्य भएर ओलीले अध्यादेश  फिर्ता लिए ।

ओलीले ती अध्यादेश ल्याएपछि पार्टी नै फुटाउने र अर्को दलसँग मिलेर सत्ता चलाइरहने चर्चा पनि चल्यो । तर, त्यसो  भने भएन । अध्यादेश ल्याएपछि पार्टीभित्र कमजाेर बने ओली । आफू कमजाेर बनेपछि उनले पुस ५ गते संविधान मिचेर प्रतिनिधिसभा नै विघटन गरे ।

ओलीले संसद विघटन गरेपछि नेकपा नै सत्तारुढ दल र प्रमुख प्रतिपक्षी दलका रूपमा विभाजित बन्याे । ओली समूह सत्तारुढ बन्यो भने प्रचण्ड–माधव समूह प्रखुम प्रतिपक्षी बन्याे । ओली समूह र प्रचण्ड–माधव समूहको कित्ताकाट भयो । नेता, मन्त्री सबै दुई धारमा बाँडिए ।

प्रतिनिधि सभा असंवैधानिक भएको भन्दै प्रचण्ड–माधव समूहका सात मन्त्रीले पुस ५ गते नै सामूहिक राजिनामा दिए । तर केही मन्त्री भने आफ्नो पद गुम्ने डरले ओली समूहमै बसे । काेही नेता भने मन्त्री पदकाे लागि ओली समूहमा पनि गए ।

त्यसपछि उनीहरुले ओलीको बचाउ गर्दै आए । यता प्रचण्ड–माधव समूह भने ओलीकाे कदम असंवैधानिक भन्दै सडकमा निस्कियाे । रमाइलाे कुरा चाहिँ के भयाे भने नेकपाकै एउटा समूह संसद् विघटन असंवैधानिक भन्दै सडकमा निस्कियाे, अर्काे समूहले पनि ओलीकाे कदम ठिक भएकाे र ‘केपी ओली आइ लभ यु’ भन्दै सडकमै नारा लगाइरह्याे ।

तर, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस भने खासै सडकमा देखिएन । कांग्रेसकाे दायित्व नै संकटमा पर्याे । ओलीकाे असंवैधानिक कदमविरूद्ध कांग्रेस कमजाेर देखिनुकाे मुख्य कारण हाे, सभापति शेरबहादुर देउवा ।

सत्ताका लागि जस्तो पनि जोखिम मोल्न सक्ने छवि बनाएका देउवाले प्रतिनिधिसभा विघटनको घटनालाई पनि आफ्नो लाभकाे हतियार बनाए । वरिष्ठ नेता रामचन्द्र पौडेलसहित इतरपक्षीय अधिकांश नेताले प्रधानमन्त्री ओलीको प्रतिनिधिसभा विघटन गर्ने कदमलाई असंवैधानिक भनेर पुन:स्थापनाको माग राखेर जनतामाझ जानुपर्ने अडान राखिरहँदा देउवाले भने अदालतलाई दबाब दिने किसिमले कुनै पनि आन्दोलन नगर्ने अडान लिइरहे ।

साँच्चै स्वार्थ नै सोच्ने हो भने त वरिष्ठ नेता पौडेल पो देउवाकाे जस्ताे अडान लिनुपर्ने हाे तर उनी भने ओलीको प्रतिगामी कदमलाई विरोध गर्दै आए । पौडेलले भनेका थिए, ‘म चुनाव हारेको व्यक्ति हुँ । चुनाव हुँदा सबैभन्दा बढी खुसी हुनुपर्ने मानिस म हुँ । संविधान र लोकतन्त्र पहिले बचाऔँ, चुनाव पछि लडौँला ।’

यदि, वैशाखमा चुनाव भयाे भने देउवा फेरि प्रधानमन्त्री हुने दाउमा थिए । पुस १० गतेकाे केन्द्रिय समितिकाे बैठकमा नै देउवालाई एक ज्योतिषीले ‘६ पटक प्रधानमन्त्री बन्छस्’ भनिदिएको विषयकाे चर्चा चलेकाे थियाे । केन्द्रीय समितिमा ज्योतिषीकाे चर्चा चल्दा देउवाले मख्ख हुँदै भनेका थिए- ‘मै प्रधानमन्त्री बन्ने सम्भावना छ ।’

अहिले संसद् पुन:स्थापना भएपछि पनि देउवा मख्ख नै छन् । करण हाे, उनलाई नै प्रधानमन्त्री बन्ने प्रस्ताव । बुधबार देउवा निवास बुढानिलकण्ठमा तीन नेताबीच भएको छलफलमा प्रचण्ड र माधवकुमार नेपालले सभापति देउवालाई प्रधानमन्त्री बन्न प्रस्ताव गरेका छन् । देउवाको यस्तो व्यवहारले उनको इमानसँगै राजनीतिक साखसमेत गुमेकाे छ ।

सुवास नेम्वाङ कसरी चिप्लिए ?

सुवास नेम्वाङ संविधानसभाध्यक्ष भएका व्यक्ति हुन् । उनले सभामुख हुँदा पदीय मर्यादा खस्कन दिएनन् । संविधानसभाबाट संविधान जारी गर्न सफल उनै नेम्वाङ संविधान संकटमा पर्दा भने उल्टो बोल्दै हिँड्न थाले ।

ओलीले असंवैधानिक रूपमा गरेको संसद विघटनलाई उनले साथ दिँदै आए । प्रधानमन्त्रीलाई काम गर्न नदिएपछि संसद् विघटनको विकल्प नभएको तर्क नेम्वाङले गर्दै आएका थिए । प्रधानमन्त्रीको कदमको बचाउ गर्दै आए ।

फागुन ८ गते विराटनगरमा सभालाई सम्बोधन गर्दै नेम्वाङले भनेका थिए– ‘चर्चा हुने गर्छ, देशमा प्रतिगमन भयो । म तपाइँहरुलाई छोटकरीमा, एकदम प्रस्ट शब्दमा आग्रह गर्न चाहन्छु । प्रतिगमनको छेउछाउ पनि होइन । यो सब हल्ला हो । यो सब चर्चा हो । भ्रम हो । यसको कुनै आधार छैन । प्रधानमन्त्री र प्रधानमन्त्रीको कदमप्रति २०० प्रतिशत विश्वस्त छु ।’

तर सर्वाेच्च अदालतले संसद् पुनैस्थापना गरेपछि उनी आजको लाजमर्दो अवस्थामा पुगेका छन् । अहिले उनी सर्वोच्चको बोलीमा लोली मिलाउँदै भन्न थालेका छन्, ‘त्यति बेलै प्रधानमन्त्रीलाई यो असंवैधानिक कदम हुन्छ भनेर भनेको थिएँ तर मान्नुभएन ।’ यसले उनीको इमान मात्रै होइन राजनीतिक साखसमेत गुमेको छ ।

सर्वाेच्चले फैसला गरेकाे भाेलिपल्ट अर्थात् बुधबार नेम्वाङले बाेले फेरे । उनीले न्युज २४ सँग कुरा गर्दै नेम्वाङले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफूले प्रतिनिधिसभा विघटन नगर्न सुझाव दिएको बताए । जसले गर्दा नेम्वाङकाे पनि इमान गुमेकाे छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV