१२ फाल्गुन २०७७, बुधबार
  • इन्दिरा चाम्लिङ,

ब्रसेल्स, १२ फागुन । प्रवासी एकता मञ्च बेल्जियमले सर्वोच्च अदालतको निर्णयलाई स्वागत गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीको तत्काल राजीनामा माग गरेको छ ।

मञ्चका अध्यक्ष जीत लामा र सचिव रमेश कँडेलले बुधबार (आज) संयुक्त प्रेस वत्तव्य जारी गर्दै आम नेपाली जनताको भावना, विधि र तथ्यहरुको आधारमा संविधानको मर्म अनुरुप विघटित प्रतिनिधि सभा पुनःस्थापना गर्ने सर्वोच्च अदालतले गरेको फैसलाको स्वागत गरेको जनाएका छन् ।

अध्यक्ष लामाले अगाडि भनेका छन्, ‘२०७७ पुष ५ गतेका दिन प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्या भण्डारीले विघटन गरेकी प्रतिनिधि सभालाई ११ फागुन २०७७ का दिन सम्मानित सर्वोच्च अदालतले बदर गर्ने फैसला गरेको छ । यो निर्णयसँग प्रवासी नेपालीहरू खुशी छौं ।’

त्यस्तै, उनले सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनस्र्थापना गर्ने निर्णय गरेर मुलुकमा अदालत (कानून) जीवन्त रहेको प्रमाणित गरेको जनाएका छन् । जारी विज्ञप्तीमा भनिएको छ, ‘यो फैसलासँगै देशमा स्थिर राजनीति पुनःस्थापना भएको छ । जनताको संविधान प्रतिको भरोसा मरेको छैन । र लोकतन्त्रको जीत भएको छ ।’

त्यस्तै, मञ्चले प्रधानमन्त्री ओलीको सो कदम असंवैधानिक र अलोकतान्त्रिक छ भनि विरोध गर्दै आएको थियो ।

यस्तो छ प्रेस विज्ञप्तीको पूर्णपाठ

२०७७ पुष ५ गतेका दिन प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्या भण्डारीले विघटन गरेको प्रतिनिधि सभालाई आज ११ फागुन २०७७ का दिन सम्मानित सर्वोच्च अदालत ले बदर गर्न फैसला गरेको छ ।

प्रवासी नेपाली एकता मञ्च बेल्जियमले प्रधानमन्त्री ओलीको उक्त कदम असंवैधानिक र अलोकतान्त्रिक छ, भनि विरोध गर्दै आएको थियो ।

आम नेपाली जनताको भावना, विधि र तथ्यहरुको आधारमा संविधानको मर्म अनुरुप विघटित प्रतिनिधि सभा पुनस्र्थापित हुने गरी सम्मानित सर्वोच्च अदालतले गरेको फैसलाको सम्मान गर्दै हार्दिक स्वागत गर्दछौं ।

यस्तो असंवैधानिक काम गर्ने प्रधानमंत्री ओलीलाई तत्काल आफ्नो पदबाट राजीनामा दिई अग्रगमनको मार्ग प्रसस्त गर्न समेत माग गर्दछौं ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV