१२ फाल्गुन २०७७, बुधबार
  • दान बहादुर बुढा,

मुगु, १२ फागुन । जिल्लाको मुगुम कार्मारोङ्ग गाँउपालिकामा ईन्टरनेटले काम नगर्दा सेवा प्रवाहमा समस्या आएको छ । गाउँपालिकामा जडान गरिएको वल्र्डलिंकको ईन्टरनेट टावरले राम्रोसँग काम नगर्दा र यसको क्षमता पनि कम भएकाले गाँउपालिकाको सेवा प्रवाहमा समस्या आएको हो ।

गाउँपालिकाको विषयगत शाखाहरुमा ईन्टरनेटमार्फत काम गर्नुपर्ने हुन्छ । जसमध्ये बढी स्वास्थ्य शाखा, प्रशासन शाखा, लेखा शाखा र पञ्जिकरण शाखामा अत्याधिक ईन्टरनेटको आवश्यकता हुन्छ । तर, इन्टरनेटले काम नगर्दा गाउँपालिकामा सेवा लिन आउने सेवाग्राहीहरुलाई धैरे बेरसम्म कुराउनु पर्ने बाध्यता रहेको मुगुम कार्मारोङ्ग गाउपालिकाका पञ्जिकरण सेवा ईकाईका एम.आई.एस. अपरेटर अर्जुन बुढाले बताए ।

बुढाका अनुसार आफू रहने शाखामा बढी ईनटरनेटमार्फत काम गर्नुपर्ने र यस शाखाबाट प्रवाह हुने सामाजिक सुरक्षा भत्ता, जन्म, मृत्यु, बिवाह, बसाईसराईलगायत गाँउपालिकाबाट प्रवाह हुने सेवाहरुको डाटा ईन्ट्री गर्नु पर्ने भएकाले ईन्टरनेटले राम्ररी काम नगर्दा निकै सास्ती भोग्नु परेको छ ।

गाँउपालिकामा ईन्टरनेटले रोम्रोसँग काम नगर्दा सेवा प्रवाहलाई छिटो छरितो र सेवामुखी बनाउनका लागि यस गाँउपालिकाबाट एक दिनको पैदल यात्रा गरेर सदरमुकाम गमगढी बजार गएर पनि सेवा प्रवाह गर्ने गरेको एमआईएस अपरेटर बुढाको बताए ।

गाँउपालिकामा सुविधा सम्पन्न भवन निर्माण भएतापनि गतिलोसँग ईन्टरनेटले काम नगर्दा यहाका कर्मचारीहरुले सास्ती खेपिरहेका छन् । भौगोलिक विकटता र सञ्चार क्षेत्रले पछि परेको कर्णाली प्रदेशको मुगुमा हालसम्म पनि उस्तै कथा रहेको छ ।

सदरमुकाम गमगढी बजारदेखि करिब एक दिनको बाटो टाढा रहेको मुगुम कार्मारोङ्ग गाउपालिकामा हालसम्म शिक्षा, स्वास्थ्य, सञ्चारलगायत भूगोलले ठगेको यस गाँउपालिकामा उस्तै समस्या रहेको हुनाले आगामी दिनहरुमा ईन्टरनेट सेवालगाएत अन्य सेवाहरुमा सुधार गर्नका लागि गाँउपालिकाका जनप्रतिनिधि र आफू सरोकारवाला निकायसँग पहल गरिरहेको मुगमकामारोङ गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत तीर्थ बहादुर कठाएतले बताए ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV