१२ फाल्गुन २०७७, बुधबार

काठमाडौं, १२ फागुन । नेपाल लोकतान्त्रिक खेलकुद संघ बागमती प्रदेशले पूर्वप्रधानमन्त्री एवं सन्त नेता कृष्ण प्रसाद भट्टराई (किसुनजी) को नाममा महिला तथा पुरुष हाफ म्याराथन आयोजना गर्ने भएको छ ।

बुधबार पत्रकार सम्मेलन आयोजना गरी २२ चैतमा ‘प्रथम किसुनजी स्मृती राष्ट्रिय महिला तथा पुरुष खुल्ला हाफ म्याराथन प्रतियोगिता–२०७७’ आयोजना गर्न लागिएको प्रदेश संयोजक एवं केन्द्रीय सदस्य दीपक गुरुङ्गले जानकारी दिएका हुन् ।

समग्र नेपाली राजनीति र नेपाली खेलकुदको क्षेत्रमा किसुनजीको योगदानलाई स्मरण गर्दै प्रतियोगिता आयोजना गर्न लागिएको विज्ञप्तीमार्फत् भनिएको छ । प्रतियोगितालाई भविष्यमा अन्तर्राष्ट्रियस्तरको प्रतियोगिताको रुपमा रुपान्तरीत गर्दै जाने र नव खेलाडी उत्पादनलाई समेत जोड्दै जाने संयोजक गुरुङ्गले बताए ।

अनुमानित ९ लाख बजेट रहेको प्रतियोगितामा विजयी हुनेलाई प्रथम पुरस्कारस्वरुप २५ हजार, द्वितियलाई १५ हजार र तृतियलाई १० हजार पुरस्कार प्रदान गरिने जनाइएको छ । त्यस्तै चौँथो र पाँचौ स्थान ओगट्न सफल खेलाडीहरुले नगद ५/५ हजार प्राप्त गर्ने छन् ।

म्याराथन काठमाडौं क्षेत्र नं. ४ गोल्फुटारस्थित बास्केटबल कोर्टबाट सुरु भएपछि धुम्बाराही चोक, चावहिल, गौशाला, रातोपुल, ज्ञानेश्वर, कमलपोखरी, जयनेपाल हल, दरवारमार्ग, केशरमहल, लैनचौर, लाजिम्पाट, पानीपोखरी, नारायणगोपाल चोक, बुढानिलकण्ठ प्रहरी बिट हुँदै पुनः सोहिस्थानमा आएर समापन हुने कार्यक्रममा जनाइएको छ ।

कार्यक्रममा नेपाल लोकतान्त्रिक खेलकुद संघका केन्द्रीय अध्यक्ष देवेन्द्रकुमार शेरचन, केन्द्रीय सचिवद्वय मनिष राम जोशी र बखतबहादुर शाही, केन्द्रीय सदस्य राजु बिक्रम थापा, कुमार बस्नेत लगायतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV