सर्वोच्च अदालतबाट छिट्टै संविधानको मर्म र भावनाअनुसार फैसला आउने : पुष्पकमल दाहाल



प्रकाशित मिति : Feb 23, 2021

काठमाडौं, ११ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले छिट्टै सर्वोच्च अदालतबाट संविधानको मर्म र भावनाअनुसार फैसला आउने विश्वास व्यक्त गर्नुभएको छ ।अखिल नेपाल ट्रेड युनियन महासङ्घ (अन्टुफ) ले आज पेरिसडाँडामा आयोजना गरेको ‘२० औँ मजदूर बलिदान दिवस तथा अभिनन्दन कार्यक्रम’मा उहाँले जनयुद्ध र जनआन्दोलनको बलमा संविधानसभाबाट घोषणा भएको संविधानअनुसार गठन भएको सर्वोच्च अदालतलबाट प्रतिनिधिसभा पुनःस्थापना हुने जिकिर गर्नुभयो ।

प्रतिनिधिसभा विघटन गरिएपछि उक्त विषय सर्वोच्च अदालतबाट निरुपण हुने क्रममा रहेको छ । प्रतिनिधिसभा विघटनको पक्ष र विपक्षमा बहस सकिएपछि ‘हेर्दाहेर्दै’मा राखिएको छ । केहीदिन भित्रै फैसला आउने अपेक्षा गरिएको छ । “नयाँ संविधानअनुसार बनेका निकायले संविधानको मर्म र भावनाअनुसार काम गर्नेछन्”, उहाँले भन्नुभयो ।

संविधान गतिशील र जीवित दस्तावेज भएको उल्लेख गर्दै उहाँले जनताको पक्षमा जहिले पनि संविधान संशोधन गर्न सकिने बताउनुभयो । दोस्रो पटक आफू प्रधानमन्त्री हुँदा जनतालाई अधिकार दिनुपर्छ भनेर संविधान संशोधन गर्न प्रस्ताव लगेको स्मरण गर्दै उहाँले राष्ट्रिय आवश्यकताअनुसार संविधान संशोधन गर्न सकिने प्रष्ट पार्नुभयो ।

नेकपाको मजदूर फ्रयाक्सन इन्चार्ज जयपुरी घर्तीले मुलुकको परिवर्तनमा श्रमिक वर्गको भूमिका महत्वपूर्ण रहेपनि त्यसपछि बनेका सरकारले मजदूरका हक अधिकार सम्बोधन गर्न नसकेको गुनासो गर्नुभयो । “जनयुद्ध, जनआन्दोलनमा मजदूरको भूमिका अतुलनीय रह्यो, तर आज तिनै मजदूर बिनापारिश्रमिक कामबाट निष्कासित हुनु परेको छ”, उहाँले भन्नुभयो । कार्यक्रममा शहीद तथा बेपत्ता परिवारलाई सम्मान गरिएको थियो ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com