शिक्षक अपहरणपछि हत्या घटनाका आरोपीलाई थुनामा राख्न आदेश



प्रकाशित मिति : Feb 23, 2021
  • तारा आचार्य

विराटनगर, १० फागुन । मोरङको मिक्लाजुङ गाँउपालिका १ का शिक्षक राजेन्द्रकुमार श्रेष्ठको हत्याका आरोपीलाई जिल्ला अदालत मोरङले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।

शिक्षक हत्या आरोपी नेत्रविक्रम चन्द विप्लव समुहका संखुवासभाको मादी नगरपालिका ४ ओखरबोटे घर भएका मोरङ इन्चार्ज ३२ वर्षीय डिबी सिलवाल भनिने धनबहादु विकलाई पुर्पक्षका लागि थुनामा राख्न न्यायाधीश कपिलमणि गौतमको इजलासले आदेश दिएको हो ।

शिक्षक श्रेष्ठको अपहरणपछि हत्या गरिएको घटनामा उनी विरुद्ध प्रहरीले अपहरण तथा कर्तव्य ज्यान मुद्यामा म्याद थप गरेर अनुसन्धान गरिरहेको थियो । पछि ठहरे बमोजिम हुने गरी तत्काल पाप्त प्रमाणका आधारमा निज प्रतिवादी दोषी छैनन भन्नसक्ने अवस्था नभएकाले थुनामा राखेर घटनाको बाँकी अनुसन्धान अघि बढाउन आदेशमा भनिएको छ । आदेशपछि उनी कारागार चलान भएको अदालतका सूचना अधिकारी राजेन्द्रप्रसाद धमलाले जानकारी दिए ।

अनुसन्धान सकेर प्रह्रीले मिसिल बुझाएपछि पक्राउ परेका विक र फरार रहेका समूहका महासचिव चन्द सहित ३५ जनालाई प्रतिवादी बनाएर जिल्ला सरकारी वकिल कार्यालयले अभियोगपत्र तयार पार्दै अघिल्लो आइतबार अदालतमा अपहरण तथा कर्तव्य ज्यान मुद्या तर्दा गरेको थियो ।

घटनामा ४२ जनाको संलग्नता रहेको अनुसन्धानबाट खुलेको थियो ती मध्ये ३५ जनालाई प्रतिवादी बनाइएको भए पनि वतन नखुलेको भन्दै सात जनाका विरुद्ध भने मुद्या दर्ता गरिएको थिएन । वतन नखुलेका सात जनाको हकमा सरकारी वकिल कार्यालयले अदालतमा पूरक अभियोग लैजाने तयारी गरेको सहायक जिल्ला न्यायाधीवक्ता मुकुन्द रेग्मीले जानकारी दिनु भयो ।

हातहतियार खरखरजना मुद्यामा विक एक्लैलाई प्रतिवादी बनाइएको थियो । अपहरण तथा कर्तव्य ज्यान मुद्धा भने विकसहित प्रतिबन्धित नेत्र विक्रमचन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेकपा विप्लव समूहका महासचिव चन्दा,पार्टीक प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्ड समेत गरेर ३५ जनाविरुद्ध दर्ता भएको थियो । विप्लव समूहले सुराकीको आरोप लगाँउदै घरबाटै नियन्त्रणमा लिएर अपहरणपछि शिक्षक श्रेष्ठको गत मंसिर २३ गते हत्या गरेको हो ।

मिक्लाजुङ गाउँपालिका १ स्थित सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक ५३ वर्षीय श्रेष्ठको घाँटी रेटेर विभत्स तरिकाले हत्या गरिएको अवस्थामा शव भेटिएको थियो । घटना भएकै दिन विप्लव समूहका मेची कोसी ब्यूरो इन्चार्ज प्रतापले विज्ञप्ति जारी गरेर हत्याको जिम्मा लिएका थिए । हत्याको जिम्मा लिने प्रतापसिहत विप्लव समूहका महासचिव चन्द प्रवक्ता विश्वकर्म लगायत ३४ जना अझै सम्म फरार छन् । प्रहरीले घटनाको अनुसन्धान सकेर मिसिल बुझाएपछि सरकारी वकिल कार्यालयले हत्या घटनामा पक्राउ परेका एक र फरार रहेको ३४ सहित ३५ जनालाई अभियुक्त बनाएर अदालतमा मुद्धा दर्ता गरेको थियो ।

 


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com