९ फाल्गुन २०७७, आईतवार
  • सुशील ढुंगाना,

कञ्चनपुर, ९ फागुन । ‘पर्यटकीय सम्भावनाहरुको पुञ्ज, शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज’ भन्ने नाराका साथ कञ्चनपुरमा आजदेखि शुक्लाफाँटा पर्यटन महोत्सव सुरु भएको छ ।

सुदूरपश्चिमको एक महत्वपूर्ण पर्यटकीय स्थल रहेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको प्रवद्र्धन तथा प्रसार प्रसार गर्ने उद्देश्यले भीमदक्त नगरपालिका र कञ्चनपुर उद्योग वाणिज्य संघको संयुक्त आयोजनामा महोत्सवको सुरु गरिएको हो ।

२०७३ सालदेखि महोत्सव आयोजना हुँदै आएको छ । आइतबारदेखि सुरु भएको महोत्सव ७ दिनसम्म चल्नेछ । यस वर्षको महोत्सवको उद्घाटन वन तथा वातावरण मन्त्री प्रेमबहादुर आलेले गरेका छन् ।

महोत्सको उद्घाटन गर्दै वनमन्त्री आलेले आफू मन्त्री नियुक्त भए लगत्तै पर्यटन क्षेत्रमा टेवा पुग्ने नयाँ कार्यक्रम ल्याउने तयारी गरिरहेको बताए । यस्तै वन तथा वातावरण मन्त्री आलेले विकास निर्माणका काममा वनका कारण झेल्नु परेक सबै समस्या आफूले अन्त्य गर्ने प्रतिवद्धता समेत जनाए ।

साथै कञ्चनपुरको शुलाफाटा आरक्षले पीडितले भोग्नु परेका समस्या समाधानको लागि आफूले यथासक्य पहल गरि तुरुन्त समस्या समाधान गर्ने उनले बताए । ढुङ्गाका कारण निर्माणाधीन चार लेनको महाकाली पुलको काममा अवरोध सिर्जना भएको बताउँदै मन्त्रालयमा पेश भएको प्रतिवेदन स्वीकृत गरेपनि मन्त्रीपरिषद्को बैठकले निर्णय गर्नुपर्ने आवश्यक रहेको जनाए ।

‘कुनैपनि विकासको काममा बाधा अड्काउ फुकाउन मैले १ सेकेण्ड पनि लगाउदिन,’ मन्त्री आलेले भने, ‘तत्कालीन शुक्लाफाँटा आरक्ष विस्थापितहरुको व्यवस्थापन गर्न १९ वर्ष होइन १९ दिन पनि कुर्नु पदैन् । उहाँहरुको समस्या हामी समाधान गछौँ ।’

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसहित सुदूरपश्चिम क्षेत्रका विभिन्न धार्मिक तथा अन्य पर्यटकीय क्षेत्रको समेत महोत्सवका समयमा प्रचारप्रसार गर्ने लक्ष्य राखिएको छ ।

महोत्सवका माध्यमबाट शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्र रहेका संरक्षित वन्यजन्तु, विशाल घाँसे मैदान, तालतलैया र दुर्लभ वनस्पतिका बारेमा सहभागीलाई जानकारी पनि गराइने आयोजकले जनाएको छ ।

विश्वमै दुर्लभ बाह्रसिंगेको सबैभन्दा ठूलो बासस्थान रहेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज क्षेत्रफलका हिसाबले सानो भए पनि ५४ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको विशाल घाँसे मैदान र बाह्रसिंगाको झुन्ड रहेको छ ।

उक्त मैदान र झुन्डले नै शुक्लाफाँटा भ्रमण गर्नेलाई मोहित तुल्याउने गरेको छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज ३०५ वर्ग किलोमिटरको क्षेत्रफलमा फैलिएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV