९ फाल्गुन २०७७, आईतवार

काठमाडौं, ९ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ समूहसँग वार्ता गरेर ‘समस्या समाधान गर्नतर्फ लाग्छौं’ भन्दा केही तत्वलाई टाउको दुखाईको विषय बनेको बताउनुभएको छ ।

काठमाडौंको चन्द्रागिरीको दहचोक–१ स्थित पाँचौ ईन्द्रदह पर्यटन उत्सव उद्घाटन कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘विद्रोह र हतियार छाडेर मुलधारको बाटोमा ल्याउन लागेको ‘विप्लव समूह’ र पृथ्कतावादी छाडेर मुलधारको राजनीतिमा सीके राउतलाई ल्याउदा केहीलाई छट्पटी भइरहेको छ ।’

प्रधानमन्त्री ओलीले थप भन्नुभयो, ‘देश विकास समृद्धिले अगाडि बढ्यो भन्नेमा पिर परिरहेको र काम गरेको देख्न नचाहाने तत्वले देश संकटमा पार्न खोज्दै छन् । मैले बिकासका लागि काम गरेको हो । लोकप्रियताका लागि होइन ।’

प्रधानमन्त्री ओलीले दुई चरणमा चुनाव गराई देशलाई स्थायी समृद्ध कायम गर्न आफू अग्रसर भएरै देखाउने बताउनुभयो । त्यस्तै, उहाँले दहचोक एतिहासिक, भौगोलिक र सांस्कृतिक हिसावले निकै महत्वपूर्ण स्थान भएका कारण वीर योद्धा काजी कालुपाण्डेको समाधि स्थल र दहचोक गढीलाई विश्वमाझ चिनाउने गरी काम गरिने बताउनुभयो ।

देशका लागि टाउको दिने वीर योद्धाहरूको सँधै सम्मान गर्न राज्य सधै तयार रहने प्रधानमन्त्री ओलीले बताउनुभयो । प्रधानमन्त्री ओलीले दहचाकमा निर्माण गरिएको भ्यूटावर समेत उद्घाटन गर्नुभएको थियो ।

कार्यक्रममा बोल्दै चन्द्रागिरीका मेयर घनश्याम गिरीले चन्द्रागिरीको समग्र विकासमा सबैको आ–आफ्नो स्थानबाट साथ सहयोग भएको खण्डमा चन्द्रागिरी नगरपालिका देशकै नमूना नगरपालिका बन्ने बताउनुभयो ।

कार्यक्रम पश्चात् प्रधानमन्त्री ओलीले शिक्षा मन्त्री कृष्ण गोपाल श्रेष्ठ, शहरी राज्य मन्त्री रामविर मान्धरलगायत मन्त्रीसहित दहचोक सिस्ने खोला सुरूङ मार्गको अवलोकन समेत गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV