९ फाल्गुन २०७७, आईतवार
  • शीतल भट्ट,

कञ्चनपुर, ९ फागुन । बेलौरी नगरपालिका–१० सडकघाट (नेपाल–भारत) कञ्चनपुरको सीमा क्षेत्र हो । सीमा क्षेत्रमा अनेकन विवाद आइरहन्छन । त्यसको प्रत्यक्ष असर किसानलाई पर्छ ।

सीमा क्षेत्रमा थुप्रै समस्यामा बाबजुत पनि सडकघाटका एक किसानले आफ्नो कर्म गर्न छाडेका छैनन् । स्थानीय किसान चक्र कठायत दुई दशकदेखि नियमित उखु खेतीमा जुटेका छन् ।

नगदेबालीको रुपमा लिइएको उखु खेतीमा राम्रो आम्दानी हुने भएपछि उनले सीमा क्षेत्रमा अनेकन सकसका बीच पनि उखुखेती गरिरहेका छन् ।

कठायतसँग ५ विगाह जमीन छ, बाँकी जमीन भाडामा लिएर उखुखेती गर्दै आएका छन् । दुई दशकदेखि उनले ३२ विगाहमा उखुखेती गरेका छन् ।

०५६ सालमा गाँउकै विद्यालयबाट एसएलसी उर्तिण गरेका कठायतले रोजगारीका लागि विदेश जान काठमाडौं पुगेका थिए, तर त्यहाँ पुगेर विदेश जाने निर्णय रद्द गरे ।

‘मैले बैदेशिक रोजगारी मलेसियाका लागि भिसा लगाएको थिए’, किसान चक्र कठायतले भने, ‘विदेश जाने लहर चलेर घरबाट ६० हजार रुपैया बोकेर काठमाडौँ गए, तर त्यहाँ पुगेर विदेश जान मन लागेन । घर फर्किए । उखुखेतीमा जुटे ।’

०५७ सालदेखि नियमित उखुखेतीमा जुटेको कठायतले गाँउमै चिनी मिल आएपछि बिक्रीका लागि सहज भएको बताए । पहिलो गाँउमा चिनीमिल नहुँदा भारत र कैलालीको चुहा चिनीमिलमा समेत उखु बेचेको बताउदै उनले बाह्य ठाँउमा उखु बिक्री गर्दा समस्या झेल्नु परेको बताए ।

‘हाम्रै देश कैलालीको चुहा चिनीमिलमा उखु बेचे । साहुले पैशा नदिएपछि चिनी नै ल्याएर असुल गरे’, उनले भने ‘भारतमा बिक्री गर्दा समयमै रुपैया पाउन समस्या हुन्थ्यो, तर आजभोलि गाँउमै चिनी मिल खुलेसंगै समयमै पैसा पाइन्छ ।’

५ विगाह आफ्नै खेत र बाँकी २७ विगाह जमिन भाडामा लिएर उखु खेती गरेका कठायतले प्रति एक विगाह बार्षिक ४० देखि ६० हजार भाडा तिरेर खेती गर्दै आएका छन् । उनले उन्नत जातको अर्ली उखुखेती गरेका छन् ।

यसका साथै उनले अन्तरवाली समेत लगाएका छन् । ‘जमिन समान भाडाको छैन’, उनले भने, ‘कतै कम कतै बढी मुल्यको पाइन्छ ।’ उनले स्वदेशमा उखुखेती गरेर स्थानीयलाई रोजगारी समेत दिएका छन । ३० मजदुरले स्वदेशमै रोजगारी पाएका छन ।

‘टेक्टर चालकदेखि उखु गोडमेल गर्नेहरु छन्’ उनले भने, ‘गाँउमै रोजगारी दिन पनि सफल भएको छु ।’ विदेश गएर फर्किएको भए आज यो प्रगति नहुने उनका भनाइ छ । उनले बार्षिक ६० देखि ७५ लाखसम्मको उखु बिक्री गर्दै आएका छन् । जसमध्ये १५÷२० लाख रुपैया नाफा कमाउदै आएका छन् ।

‘सबै खर्च घटाएर मैले बार्षिक १५ देखि २० लाख शुद्ध नाफा कमाउदै आएको छु’, उनले भने, ‘उखुकै आम्दानीबाट बाँकेमा एक विगाह जमिन खरिद र कोहलपुरमा घर घडेरी बनाएको छु । मेरा र भाईका छोराछोरी पनि त्यही बोडिङ्ग स्कुलमा पढ्छन ।’

उखु खेतीमा नलागेको भए आज आफ्ना छोराछोरीलाई राम्रो स्थानमा पठाउन नसकिने उनको भनाइ थियो । सीमा क्षेत्रमा उखुखेती भएकाले कहिलेकाही भारतीय पक्षबाट उखु ओसार्न अवरोध हुने गरेको छ ।

‘हाम्रो र भारतीयको खेत सीमामै छ’, उनले भने, ‘सीमाबाट संयुक्त सडक भएर हामीले उद्योगमा ढुवानी गर्नुपर्छ । तर कहिलेकाही भारतीय पक्षबाट अनावश्यक अवरोध हुन्छ ।’

उखु खेतीमा एक असल किसान हुदा पनि राज्यबाट अहिलेसम्म कुनै पनि त्यस्तो अनुदान राहत नपाएको उनको भनाइ छ । उनी भन्छन्, ‘स्थानीय सरकार अन्धो भयो । प्रदेश सरकार बहिरो छ । संघीय सरकार अन्धो र बहिरो दुबै छ । भने जिल्ला कृषि ज्ञान केन्द्र लङ्गडो छ । के गर्ने पहुँच वालाले अनुदान खान्छन् १ वास्तविक किसान मारमा छन् ।

वास्तवमै कठायत बेलौरी क्षेत्रका एक सफल उखु किसान हुँदा समेत उनलाई स्थानीय सरकार, प्रदेश र संघ कुनैपनि सरकार निकायबाट अनुदान र सहुलियत उनको मेहनतको कदर भने भएको छैन । केही मान्छे अनुदानका लागि खेती गर्ने पशुपालन गर्ने तर, उनले आफू मात्र नभई ३० जना मजदुरलाई कामदिदा समेत उनलाई अनुदानको खाचो नपरेपनि राज्यले समान व्यवहार गरेको छैन भन्दै उनले दुखेसो पोखे ।

सुुदूरपश्चिम प्रदेश सरकारले मृख्यमन्त्री नमुना कृषि गाँउ कार्यक्रम अन्र्तरगत बेलौरीमा उखु खेती गरेको छ । तर, मेहनत गर्ने किसानले कुनैपनि सुविधा पाएका छैनन् । बेलौरीका स्थानीय अगुवा युवा लाल बहादुर शाहीले चक्र कठायत उखुका लागि यसक्षेत्रकै नमुना कृषक भएको बताए ।

‘उनको मेहनतको अनुषरण अन्य युवाले पनि गर्नुपर्छ’, उनले भने, ‘चाहेपछि स्वदेशमै धेरै गर्न सकिन्छ ।’ अन्य किसानका लागि समेत कठायत प्रेरणाका स्रोत भएको बताए । बेलौरीमा उखु जोन बनाएको बताउदै यस्ता प्रेरणाका स्रोत किसानलाई समेत राज्यले समेट्नुपर्ने उनको सुझाव छ ।

‘राज्यका लागि कठायतले केही गरेका छन्’ उनले भने, ‘कठायत जस्तै सबै किसानलाई आत्मनिर्भर बनाउनुपर्छ ।’ कृषिका थुप्रै सम्भावना भएकाले त्यसतर्फ समेत राज्यले युवालाई परिचालन गराउनुपर्ने उनको सुझाव छ ।

यस्तै नेकपा नेता यज्ञ कँडेलले इमान्दार र मेहनत सफल किसानको उदाहरण चक्र कठायत भएको बताए । ‘यस्ता कर्ममुखी किसानलाई कसैले चिन्दैन’ उनले भने, ‘कठायतले आफु मात्र नभई स्थानीयलाई रोजगारी एव उद्योगका लागि कच्र्चा पदार्थ उत्पादन गरिहेका छन ।’

आत्मनिर्भर बन्नका लागि युवा विदेश होइन यस्तै बस्तु तथा सेवा उत्पादनमुखी काममा जुटनुपर्ने उनको सुझाव छ । ‘यहाँ त अनुदान लिएर खाने तर, काम नगर्नेलाई सरकारी निकायले अनुदान प्रोत्साहन एव सहयोग गर्छन’, उनले भने, काम गर्ने किसानको भलो छैन ।’

कञ्चनपुरको बेलौरी र पुनर्वास क्षेत्रका दुई चिनी उद्योग स्थापनासंगै सो क्षेत्रका किसान उखुखेती तर्फ आकर्षित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV