८ फाल्गुन २०७७, शनिबार
  • अमर काफ्ले,

इनरुवा, ८ फागुन । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीभित्र देखा परेको फरक लाइन निर्णायक मोडमा क्लियर हुने बताउनु भएको छ ।

पौडेलले संसद विघटन पश्चात उत्पन्न परिस्थितिलाई लिएर काँग्रेसभित्र देखिएको कित्ता काटको अवस्था सँगै फरक विचार र धार एक हुनेमा आफू विश्वस्त रहेको बताउनु भएको हो ।

नेपाली काँग्रेस जिल्ला पार्टी कार्यालय सुनसरीले इनरुवामा आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधनका क्रममा नेता पौडेलले पार्टी भित्र सभापति देउवा र आफ्नो लाइन फरक देखिएपनि मुलुक निकाशको लागि निर्णायक मोडमा एकवद्ध हुनेमा विश्वस्त रहेको बताउनु भएको हो ।

पौडेलले काँग्रेसभित्र विगत देखिनै वेग्लावेग्लै लाइन रहेको स्मरण गराउँदै पछिल्लो घटनाक्रमप्रति सशंकित नबन्न कार्यकर्ता माझ आग्रह समेत गर्नु भएको छ ।

उहाँले संसद विघटनप्रतिको पार्टीभित्र आफ्नो र सभापति शेरबहादुर देउवाको लाइन फरक देखिनुलाई गौण विषय भएको बताउनु भयो ।

पौडेलले काँग्रेस देश र जनताको लागि लडेको पार्टी भएको भन्दै मुलुकप्रति घात हुने कुरा कुनै पनि काँग्रेस नेताको लागि मान्य नहुने बताउनु भयो । जसको अनुभूति जनताले अब छिट्टै गर्न पाउने पौडेलको भनाइ थियो ।

सम्बोधनका क्रममा पौडेलले प्रधानमन्त्रीको कदमलाई असंवैधानिक भन्दै सर्वोच्चले संसद पूनर्थापना गर्नेमा आफू विश्वस्त रहेको बताउनु भएको छ । नियम संगत फैसला नआए अदालतप्रतिको विश्वसनीयता गुम्ने बहाँको भनाइ थियो ।

पौडेलले संसद पूनर्थापना नभए त्यसपछि उत्पन्न हुन सक्ने असहज अवस्थाबाट मुलुकलाई पार लगाउन समेत काँग्रेसको निर्णायक भूमिका आवश्यक पर्ने बताउनु भएको छ ।

कार्यक्रममा केन्द्रीय सदस्य ज्ञानेन्द्र बहादुर कार्की लगायतका नेताले सम्बोधन गर्नु भएको थियो । नेता कार्कीले भने काँग्रेसले समय अनुसार लाभकारी निर्णय लिन सक्नु पर्ने धारणा व्यक्त गर्नु भएको थियो । चुनाव भए काँग्रेस पछि हट्न नहुने कार्कीको भनाइ थियो ।

कार्यक्रममा सहभागी अगुवा नेता तथा कार्यकर्ताले भने काँग्रेस भित्रको लाइन क्लियर नहुँदा जनतामा दुविधा उत्पन्न भएको शीर्ष नेताहरु समक्ष गुनासो पोखेका थिए । कार्यक्रममा पार्टी जिल्ला सभापति राजिब कोइराला लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV