८ फाल्गुन २०७७, शनिबार

काठमाडाैँ, ८ फागुन । विगत लामो समयदेखि निरन्तर साहित्य साधनामा सक्रिय गीतकार, कवि एवं गजलकार डा खगेन्द्र घोडासैनीले नवीतम कृति बजारमा ल्याएका छन् । घोडासैनीको पछिल्लो कृति ‘नबजेका धुनहरू’ गीत/कविता सङ्ग्रह हालै प्रकाशित भएको छ ।

अछाम जिल्लाको ढकारी ८ घोडासैनमा जन्मिएर विभिन्न शिक्षण संस्था र ठाउँमा बसोबास गरी त्यहाँका अनेकौँ अनुभव बटुलेका डा खगेन्द्र घोडासैनी पेसाले हाल नेपाल संस्कृत विश्वविद्यालय, जनता विद्यापीठ, बिजौरीका उपप्राध्यापक हुनुहुन्छ । राप्ती साहित्य परिषद्का अध्यक्ष साहित्यकार पुरुषोत्तम खनालले डा घाेडासैनीका रचनाहरूमा समकालीन समयका अँध्यारा बिम्बहरूदेखि लिएर नेपाली समाजका पीडा, गुनासा र सुस्केराहरू पनि अभिव्यक्त भएकाे बताए ।

‘नबजेका धुनहरू’ गीत/कविता सङ्ग्रहबारे प्रा.डा. सुधन पौडेल भन्नुहुन्छ– ‘दाङमा रहेर साहित्य सिर्जनामा लागेका खगेन्द्रजीको यो प्रथम साहित्यिक कृति हो । दुई खण्डमा विभक्त यो कृतिको पहिलो खण्डमा २०५६ देखि २०६२ सालसम्मको ६ बर्से अवधिमा लेखिएका ३४ ओटा गीतहरू समेटिएका छन् । त्यस्तै दोस्रो खण्डमा २०५६ देखि ०६४ सम्मको ८ बर्से अवधिमा लेखिएका ४५ ओटा कविता र १७ ओटा हाइकुहरू समाविष्ट छन् । अन्त्यमा हरेक रचनाको रचनाकाल उल्लेख गर्ने उहाँको शैली मलाई अनुकरणीय लाग्यो, किनभने यसबाट स्वयम् नै आफ्ना रचनाको शैली र भावगत भिन्नताको आकलन गर्न सकिन्छ र यो एकप्रकारको वैज्ञानिक एवं व्यवस्थित तरिका पनि हो ।’

संग्रहमा प्राकृतिक सुन्दरता, द्वन्द्वको विभीषिका, सहिदको बलिदान, एकता, विकास र शान्तिको चाहनाले अभिव्यक्ति पाएका छन् । गीतका तुलनामा कवितामा विषयवस्तु उस्तै उस्तै भए पनि संरचनात्मक विविधता र प्रस्तुतिको भिन्नता छ । पीडकप्रति व्यङ्ग्यात्मक आक्रोश छ भने पीडित र असहायप्रति सहानुभूति र संवेदनशीलता व्यक्त भएको छ । केहीमा बौद्धिक दार्शनिकता र शैलीको दुरुहता थपएिको छ, पौरस्त्य, पाश्चात्य मिथकीय सन्दर्भहरू जोडिएका छन् ।

राप्ती साहित्य परिषद् दाङले उक्त संग्रह प्रकाशन गरेकाे हाे ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV