८ फाल्गुन २०७७, शनिबार

देशमा अहिले सत्ताको मोहकाे गाेटी बनिरहेछ । दैनिक पार्टीहरुले संसद विघटनविरुद्ध जुलुस, शक्ति प्रदर्शन गर्दै आम नागरिकहरुलाई दु:ख दिइरहेछन् । स्वयं सत्तासीन दलले पनि सडकमा शक्ति प्रदर्शन गरिरहेछ, प्रधानमन्त्री नै ती सभा र भेलामा व्यस्त छन् । ‘को भन्दा को कम’ को माहोल बनेको छ। यसरी दैनिक सत्तापक्ष र विपक्षहरूले जुलुस गर्दै सडक-बजार अवरोध गर्दा गरीखाने जनताकाे गाँस त ठप्प छ नै, दैनिक सयाैँ बिरामी अस्पताल नपुग्दै एम्बुलेन्समै मर्नुपर्ने अवस्था समेत सृजना भएकाे छ  ।

अहिले विगतकाे चुनावी प्रतिबद्धता र वाचाहरू चटक्क बिर्सेर कम्युनिष्ट नाउँका ‘लालगद्दार’हरू कुर्सीकै लागि स्वाँस्वाँ-फ्वाँफ्वाँ गर्दै शक्ति प्रदर्शनका नाउँमा लाखौँ जनतालाई उल्लु बनाइरहेका छन् । आफ्नाे स्वार्थकाे सर्कलमा कर्मवीवी जनताहरूलाइ कुदाइरहेका छन् ।

के कम्युनिष्ट आन्दोलन र १० बर्षे जनयुद्धमा जनताको रगतले खेलेको होली आफ्नो स्वार्थपूर्ति गर्नलाई मात्र थियो  ?  उखु किसान लगायत अन्य मजदुरहरुलाई उनीहरूको परिश्रम अनुसारको  कमाइ दिलाउन कुनै नेता सडकमा देखियाे  ?   धनी-गरिब र कामदारको रगत चुस्ने साहुहरुले उनीहरुमाथि गरिरहेको शोषणको अन्त्य भएको खोइ  ?   ती युद्ध लड्दा घाइते भएका जनमुक्ति सेनाका याेद्धाहरूको उपचार कहिले हुन्छ  ?

के कम्युनिष्ट अब “कमाउनिष्ट” भएकै हुन् त  ?   जनताले विश्वास गरेर दिएको मत “समृद्ध नेपाल, सुखी नेपाली” जस्ता खोक्रा नारा सुनाउँदै के अर्को चुनावमा भाेट माग्न अलिकति पनि लाग्दैन ?

चेलीहरु अब घरबाट बाहिर निस्किँदा दबिएर, आफूलाई असुरक्षित महसुस गर्दै आखिर कति दिनसम्म कायर बनेर हिँड्ने हो  ?  कति दिनसम्म ती नरपिचास, राक्षसहरुको शिकार भई बलात्कृत हुने हो  ?  कति दिनसम्म चेलीको भोटो अस्मितामाथि खेलबाड गर्दै तेजाब आक्रमण हुने हो  ?  कति दिनसम्म छाउपडी गोठमा बसी अकालमै ज्यान गुमाउने हो  ?माइतीघरको आन्दोलनमा गुन्जिएका ती नाराहरुले कहिले तिम्रा ती कठोर मन पगालिदिन्छन्  ?  एमसीसीजस्ता घातक सम्झाैता पारित गरी किन परचक्रीहरुसँग झुक्छौ ?

टनकपुर बेच्ने ती दलाल राष्ट्रघातीहरुलाई खोइ कारबाही गरेको  ? टनकपुरको सम्झौता अनुसार १० प्रतिशत फाइदा नेपाललाई भनी भारतले खोइ दिएको  ?   झुटो राष्ट्रवादीको नाटक गर्दै, लिपुलेक-कालापानीलाई नेपालको नक्शामा कोर्दैमा हाम्रो भुमि फिर्ता आउँदैन ।

देश अहिले गुटको भेला गर्ने, चुटकिला, उखानहरु भन्दै हसाउने र कुरा अनुसार विकास कछुवा गतिमा लैजाने रोगले ग्रसित छ। पानी जहाज, रेल, घर-घरमा ग्यासको पाइपलाइन जस्ता सपनाहरु दिउँसै जनतालाई थाङ्नामा सुताउने सपना थिए ?

दिनहुँ ४० हजार युवाहरु विदेश पलायन भइरहेछन्, रोजगार र पदाईका निम्ति आफ्नो परिवार र देशलाई माया मार्न बाध्य छन् । अन्त्यमा स्वदेश फर्कदा ती परदेशमा पसिना चुहाएर परिवार पाल्ने छोरा, छोरी र बुवा आमा बाकसमा फर्किंदा नेपाल आमाको त्यो आँसु कहिलेसम्मलाई  ?  स्वदेशमा जनतालाई रोजगार दिई परदेश जाने चलनको अन्त्य कहिले हुन्छ  ?

अब दलाल तथा भ्रस्ट राज्यसत्ताको अन्त्य गरी वैज्ञानिक समाजवादी व्यवस्था स्थापना गर्नै पर्छ । सरकारले शान्त वातावरण सिर्जना गरी प्रतिबन्ध लगाइएकाे विप्लव समूहका माग समेत पूरा गर्दै वार्ता गर्नुपर्छ । लाेकतन्त्रमा कुनै पार्टीमाथि प्रतिबन्ध सुहाउने कुरा हैन । बरू सबै परिवर्तनकामी पार्टीहरूलाए एकै ठाउँ ल्याएर, राजनीतिकाे मूलधारमा ल्याएर मजदुर, किसान, महिला, दलित, जनजाति, मधेसी, मुस्लिम र मध्यम वर्गको अधिकार दिन वैज्ञानिक समाजवादी व्यवस्था स्थापनातर्फ लाग्नु अहिलेकाे अपरिहार्यता हाे ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV