७ फाल्गुन २०७७, शुक्रबार
  • सुजन पुडासैनी,

हेटौंडा, ७ फागुन । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले केही समूहले प्रजातन्त्रलाई छाडातन्त्र, मनपरीतन्त्रको रुपमा ब्याख्या गर्दै देशलाई अराजकता तर्फ धकेल्ने प्रयास गरेको बताउनुभएको छ ।

शुक्रबार (आज) ७१ औं प्रजातन्त्र दिवसको अवसरमा प्रदेश सरकारद्धारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री पौडेलले सत्ता प्राप्तीका लागि थोरै पनि धैर्य गर्न नसक्ने, पद, प्रतिष्ठा, पैसाको लागि मरिहत्ते गर्ने, देश र जनताको लागि भन्दा पनि आफू र आफ्नो आफन्तको लागि राजनीति गर्ने प्रवृति हावी हुँदै जानुले शहीदहरुको बलिदानीको अवमूल्यन भएको बताउनुभयो ।

स्रोत र साधनको सीमितताको बीचमा समेत प्रदेश सरकार अघि बढेको मुख्यमन्त्री पौडेलले दाबी गर्नुभयो । जनताबाट पर भागेर होइन, जनताको वीचमा रहेर मात्र प्रजातन्त्र वा लोकतन्त्रलाई मजबुत बनाउदै शहीदले देखाएको बाटो र आदर्शलाई पछ्याउन सके मात्र समृद्ध नेपाल सुखी नेपालीको परिकल्पना गर्न सकिने मुख्यमन्त्री पौडेलले तर्क गर्नुभयो ।

बागमती प्रदेशका प्रदेश प्रमुख विष्णु प्रसाद प्रसाईको उपस्थितिमा भएको कार्यक्रममा बागमती प्रदेश सभाका सभामुख सानुकुमार श्रेष्ठ, प्रदेश सरकारका प्रमुख सचिव डाक्टर मान बहादुर बीकेलगायत निजामती कर्मचारी, सुरक्षा निकायका प्रमुख विभिन्न संघ संस्थाका प्रतिनिधि एंवम् विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

हेटौंडाको भूटनदेवी माविबाट सुरु भएको प्रभातफेरी कार्यक्रम हेटौंडाको मुख्य बजार हुदै मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा पुगेर सभामा परिणत भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV