७ फाल्गुन २०७७, शुक्रबार
  • तारा आचार्य,

विराटनगर, ७ माघ । राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा विराटनगर कारागारबाट ३० जना र बालसुधार गृहबाट १ जना गरी ३१ जना कैदीको कैद सजाय मिनाहा भएको छ ।

विराटनगर कारागारबाट कैद मिनाहा पाउनेहरुमा सबैभन्दा बढी कर्तव्य ज्यान मुद्दाका १६ जना रहेका छन् । यसैगरी सवारी ज्यान मुद्धाका ६ जना, ज्यान मार्ने उदोगका ३ जना, कुटपिट अंगभङ्ग मुद्धाका २ जना, डाका एक र चोरी एकजना रहेका कारागारका जेलर सुवास लामिछानेले जानकारी दिए ।

यसैगरी गौबधमा एकजनाले कैद मिनाहा पाएका हुन् । बालसुधार गृहमा लापरवाहीबाट हत्या, हातहतियार खरखजनाका एकजना कैदीको कैद मिनाहा भएको लामिछानेले जानकारी दिए ।

नेपाल सरकारले चार सय एक जना कैदीको कैद सजाय मिनाहा गरेको छ । राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले कैदमा माफी मिनाहा गरिदिएकी हुन् ।

प्रशासन कार्यालय र कारागार शाखाको सिफारिसमा असल बानीव्यहोरा भएका, कारागारको मापदण्ड पूरा गरेका कैदीलाई सजाय छुट दिने व्यवस्था र मापदण्ड अनुरुप सरकारले यो निर्णय लिएको बताएको छ ।

प्रत्येक वर्ष प्रजातन्त्र दिवसका अनवसारमा विभिन्न कारागारमा रहेका कैदीलाई अदालतबाट भएको फैसला बमोजिम लागेको कैद, जरिवाना, सर्वस्वलगायतको सजायमा माफी दिने गरिएको छ ।

सर्वोच्च अदालतको गत साउन १९ गतेको परमादेशसमेतको आधारमा फौजदारी कसूर सजाय निर्धारण तथा कार्यान्वयन ऐन २०७४ लागू हुनुपूर्व गरेको कसूरमा जन्मकैदको सजाय तोकिएकालाई कैद छुट दिइएको हो ।

प्रत्येक बर्ष यस्ता महत्वपूर्ण दिनहरुमा सरकारले कैदीहरुलाई कैद सजाय मिनाहा गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV