७ फाल्गुन २०७७, शुक्रबार
  • इन्दिरा चाम्लिङ 

ब्रसेल्स, ७ फागुन । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, महिला समितिले अन्तरराष्ट्रिय  महिला खुल्ला कविता प्रतियोगिता गर्ने भएकाे छ । प्रतियाेगिताका  लागि कविता आह्वान गर्दै समितिकी संयोजक उर्मिला निर्दोषीले अनेसासको इतिहासमा यो पहिलो विश्व महिला प्रतियोगिता हुन लागेको जानकारी दिइन् ।

अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर आयोजना गर्न लागिएको यो प्रतियोगिता ‘सन्तुलित साथै स्वच्छ समाज निर्माण’मा महिलाका सोचाइ र सृजनाका विषयहरूले समाजमा महत्वपूर्ण भूमिका खेल्ने उनले बताइन् ।

प्रतियोगिताका लागि दुई सय शब्दसम्मको कविता पठाउन समितिले अनुरोध गरेको छ । महिला जनजीवन माथि लेखिएको कवितालाई विशेष प्राथमिकता दिइने र प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने कवितालाई पाँच सय अमेरिकी डलर र सम्मान-पत्र प्रदान गरिनेछ । यसैगरी द्वितीय र तृतीय कवितालाई क्रमशः तीन सय र दुई सय अमेरिकी डलर र सम्मान-पत्र प्रदान गरिने पनि संयाेजक निर्दोषीले  जानकारी दिइन् ।

प्रतियोगितामा सहभागी हुन चाहने महिला कविहरूले नेपाली भाषामा लेखिएको अप्रकाशित कविता २० मार्च २०२१ सम्ममा पठाइसक्नु पर्नेछ । प्राप्त कविताहरू मध्येबाट निर्णायक समितिले छनोट गरेको कविताहरूलाई मात्र १८ अप्रिलमा आयोजना गरिने कार्यक्रममा वाचनकाे अवसर दिइने कुरा समेत  उनले जानकारी दिइन् ।

संयोजक निर्दोषीले भनिन्, ‘आमाहरू हरेक बच्चाका पहिलो शिक्षक, हरेक महिलाहरू घर गृहस्थीको मुटु र महिलाहरू नै समाजका मेरूदन्ड हुन् । महिलाका सृजनाहरू समाजका दर्पण र उनीहरूकाे अन्तरमनका भावनाहरूका साथै सामाजिक पथप्रदर्शक पनि हुन्  । त्यसैले यस्ता  प्रतियोगिताहरू समय*समयमा अरू संस्थाहरूले पनि गर्नुपर्छ ।’

प्रतिक्रिया दिनुहोस्
LIVE TV