७ फाल्गुन २०७७, शुक्रबार

गोरखा, ७ फागुन । बारीका ठुल्ठूला स्वाँरा (गरा)को माझामाझीमा एउटा सुन्दर बस्ती थियो। ढुंगामाटाका गारो। स्लेट ढुंगाको छाना। सबै घरमा आँखीझ्याल। कठबार ठोकेका कौशी र बार्दली निकालिएका दुई–तीनतले घर। एकबाट अर्को घर जोड्ने बाटोमा पनि ढुंगा बिछ्याइएको। गाउँको माझमा भीमसेन मन्दिर। गाउँ आसपास सुन्तला र आँपका बगैँचा। बेदमकली, गोलैँची (चुवा), गुलाबका बगैंचाले सुन्दर बनाएको यो गाउँको नाम हो, स्वाँरा।

जुन गाउँको नामबाट गाविसकै नामकरण गरियो। यही गाउँ खण्डहरमा परिणत भएको छ। यहाँका १४ घरका परिवार सबै बसाइँ गएका छन्। अहिले गाउँ रित्तो छ। सबै घरका ढोका ह्वांगै छन्। कोठा, चोटा, मझेरी, पिँढी र आँगन सिस्नु, ऐंसेलु र अँगेरीको झ्याङले ढाकेका छन्। गारो भत्किएका छन्। कठबार फुक्लिएका छन्। धुरी र छाना भाँचिएका छन्। कतिपयको पाली ढलेका छन्। कत्तिको धुरीमा बुट्यान उम्रिएका छन्। कतिपयको पुतली गारो उदांगो भएको छ।

बारीका ठुल्ठूला पाटामा, गाउँभित्र बनमारा, उन्यू, पाती फुलेको छ। गाउँसम्म विस्तार गरिएका बिजुलीको पोल ढलेका छन्। लाइन बेपरवाह लत्रिएका छन्। बारीको पुछार गरादेखि निष्पट्ट झाडीले गाउँभित्र छिरिनसक्नु भइसकेको सहर पसेकाहरूलाई थाहा पत्तो छैन। यो खबर आजको अन्नपूर्ण पाेस्ट दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV