६ फाल्गुन २०७७, बिहीबार

काठमाडौं, ६ फागुन । प्रतिनिधिसभा विघटनको विरोधमा नेकपा प्रचण्ड–नेपाल पक्षले बिहीबार काठमाडौँको टुँडिखेलमा मानव साङ्लो प्रदर्शन गरेको छ ।

संसद बिघटन गर्ने प्रधानमन्त्री केपी ओलीको कदम प्रतिगामी भएको भन्दै नेकपाले पूर्वघोषित संघर्षका कार्यक्रम अन्तर्गत सांकेतिक रुपमा मानव साङ्लो बनाएर विरोध गरिएको नेकपा नेतृ पम्फा भूषालले जानकारी दिनुभयो ।

मानव साङ्लोका लागि केन्द्रीय तहका नेताका साथै विभिन्न जनवर्गीय संघठनका नेता कार्यकर्ता सहभागी थिए ।

मानव साङ्लोमा सहभागीहरुले ‘प्रतिनिधि सभाको असंवैधानिक विघटन खारेज गर, बढ्दो महँगी नियन्त्रण गर, ओली जहाँ भ्रष्टाचार त्यहाँ लगातयतका नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए । नेकपा नेतृ भूषालले प्रधानमन्त्री कदम बिरुद्ध सडक संघर्षमा आएको बताउनुभयो ।

मानव साङ्लो दिउँसो ४ बजे सुरु भएर ५ बजे सकिएको थियो । नेकपा प्रचण्ड-नेपाल पक्षले फागुन २ गते चौंथो चरणका आन्दोलनका कार्यक्रम घोषणा गरेको थियो ।

जसअन्तर्गत फागुन १२ गतेसम्म सबै जिल्लामा प्रदर्शन गरिने र यसबीचमा हस्ताक्षर संकलन गर्ने कार्यक्रम रहेको नेतृ भुषालले जानकारी दिनुभयो ।

  

प्रतिक्रिया दिनुहोस्

LIVE TV