६ फाल्गुन २०७७, बिहीबार

काठमाडौं, ६ फागुन । कोरोना महामारीसँगैको अवस्थाबाट अस्तव्यस्त बनेको विश्व सम्पदा सूचीमा सूचीकृत ऐतिहासिक, सांस्कृतिक, धार्मिक, पुरातात्विक तथा मौलिक हनुमानढोका दरबार क्षेत्र व्यवस्थावका लागि पार्किङ, फुटपाथ पसल, ठेलागाडा पसल, फोहोरमैला र सवारी जाम हटाउन अभियान सुरु गरिएको छ ।

आकस्मिक सवारीबाहेक अन्य सवारीलाई हनुमानढोका दरबार क्षेत्रमा प्रवेश रोक लगाउँदै गमला राखेर दरबार क्षेत्रलाई सुन्दर बनाउन थालिएको छ ।

नेपालीको गौरवका रुपमा रहेको हनुमानढोका दरबार क्षेत्र संरक्षणका लागि बेला–बेलामा विभिन्न अभियानहरु सञ्चालन हुँदै आएको छ । दीर्घकालीन रुपमा समस्या समाधान गर्न नसक्दा दरबार क्षेत्र अव्यवस्थित बन्दै आएको छ ।

तर, हालै नेपाली सेना गुरुजुको पल्टन शार्दुल जङ्ग गुल्म तथा हनुमानढोका दरबार क्षेत्र संरक्षण कार्यक्रमको संयोजनमा यहाँका आधिकारिक निकाय सशस्त्र प्रहरी, नेपाल प्रहरी, ट्राफिक प्रहरी, नेपाली सेना, पुरातत्व बिभाग हनुमानढोका दरबार हेरचाह अड्डा, स्थानीय संघसंस्थाको सहकार्यमा प्राकृतिक र सांस्कृतिक सम्पदा संरक्षण र व्यवस्थापन संयुक्तरुपमा अघि बढाएको छ ।

नेपाली सेनाको पहलमा गमला राख्दै र पार्किङलगायतका अन्य समस्याहरुको दिगो रुपमा समाधान गर्न र यहाँको मौलिकता कायम गर्ने अभियानसमेत अघि सारेको छ । पार्किङ, फुटपाथ, फोहोर व्यवस्थापनका लागि पद्धति विकास गर्न खोजेको संरक्षण अभियन्ताहरुले बताएका छन् ।

ऐतिहासिक र पुरातात्विक महत्व बोकेको यस नगरीलाई व्यवस्थित र संरक्षणमा नेपाली सेनाले स्थानीय र सम्बन्धित निकायलाई समन्वय र सहकार्य गरेर काम गरिरहेको छ ।

त्यसका साथै काठमाडौं उपत्यकामा मनाइने विभिन्न जात्रा पर्वमा बाजा बजाउँदै सहभागी हुने गुरुजुको पल्टनलाई लोपोन्मुख बाजाका धुन संरक्षणका लागि स्थानीय प्रशिक्षकद्धारा प्रशिक्षण समेत सुरु गरेको गुरुजु पल्टनका गुल्मपति विकास शाक्यले बताए ।

चुनौतीको सामना गर्दै समस्याको समाधानतर्फ लाग्ने गरी अबका दिन हनुमानढोका दरबार क्षेत्रलाई व्यवस्थि गर्दै लैजाने योजना रहेको छ । यसअघि पनि पटक–पटक सो क्षेत्रमा यसप्रकारको प्रतिबन्ध लाग्दै आए पनि प्रभावहीन हुँदै आएको थियो । तर, अब भने हनुमानढोका दरबार क्षेत्रमा जथाभावी फोहोर गर्न र आकस्मिक सवारीबाहेक पार्किङ गर्न पाइने छैन ।

 

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV